स्वास्थ्य |

भ्रममा नपराैं, कोभिशिल्ड सुरक्षित छ, सेलिब्रिटीले लगाएर प्राेत्साहित गरौं

सम्पदा अनुरञ्जनी खतिवडा
काठमाडौं, माघ १५ गते । लामो प्रतीक्षापछि कोभिड–१९ को खोप अभियान नेपालमा हिजोबाट सुरु भएको छ । कोभिडविरुद्धको लडाईंमा अग्रपंक्तिमा खटिने चिकित्सक, नर्स, सरसफाइकर्मी, एम्बुलेन्स चालकसहित स्वास्थ्यकर्मी र कोभिड सङ्क्रमणबाट मृत्यु भएका ब्यक्तिको शव ब्यवस्थापनमा परिचालित ब्यक्तिहरुलाई पहिलो चरणमा खोप लगाउन शुरु गरिएको छ ।
कोरोनाविरुद्धको खोप उपलब्ध भएपछि कतिपयले सरकारको तत्परता र अग्रसरतालाई लिएर उत्साहित देखिएका छन् भने कतिपय खोप लिने वा नलिनेबारे अन्याेलमा छन् । उनीहरु कोभिशिल्डको प्रभाबकारिता र असरलाई लिएर चिन्तित देखिएका छन् ।
कोभिशिल्ड खोप विश्व स्वास्थ्य संगठनबाट स्वीकृति प्राप्त नगरेको तथा खोप लगाएपछि भएका मृत्युका घटनाहरुबारे सामाजिक सञ्जाल र समाचारहरु समेत आएका छन् । यी सबैका बीच सरकारले सुरु गरेको खोप अभियानमा संलग्न हुन कतिपय सर्वसाधारण अनिच्छुक देखिएका छन् । कोभिशिल्ड बेलायतको अक्सफोर्ड विश्वविद्यालय र आष्ट्राजेनेका कम्पनीले विकास गरेको खोप हो । भारतको सिरम इन्स्टिच्युटमा उक्त खोपको उत्पादन गरिँदैछ ।
जनस्वास्थ्य विज्ञहरुले कोभिशिल्ड खोपको प्रयोग सुरक्षित रहेको दाबी गर्दै आएका छन् । सङ्क्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी भन्नुहुन्छ, “विभिन्न इन्स्टिच्युटले गरेको क्लिनिकल परीक्षणमा कोभिशिल्डको प्रभाबकारिता ६० देखि ७० प्रतिशत पाइएको छ ।” अमेरिकी खाद्य तथा औषधि प्रशासनले पचास प्रतिशतसम्म प्रभाबकारि देखिएको खोपलाई समेत प्रयोगका लागि अनुमति दिँदैछ । त्यसैले नेपालमा लगाउन लागिएको खोप समेत प्रभावकारी नै हुने मानिएको डा. अधिकारी दाबी गर्नुहुन्छ ।
डा. अधिकारी नयाँ प्रविधिले विकास गरिएकोले समेत खोपको प्रयोग सुरक्षित हुने बताउनुहुन्छ । “महामारी अन्त्यको एक मात्र अन्तिम सहारा खोप लगाउनु हो, त्यसैले खोप प्रयोगका लागि सबैजना हातेमालो गर्नु जरुरी छ ।” – उहाँले भन्नुभयो । खोपको अन्य असरको प्रतिवेदन प्राप्त हुन बाँकी नै रहे पनि हामीले खोपको फाइदा र जोखिमको अनुपात हेर्नुपर्ने डा. अधिकारी थप्नुहुन्छ ।
कोभिशिल्ड उत्पादकबाट समेत मृत्युको घटना पुष्टि गरिएको छैन । भारतसहित विभिन्न राष्ट्रले यसअघि नै कोभिशिल्ड लगाउन सुरु गरिसकेका छन् । त्यसैले, सर्वसाधारणले कोभिशिल्ड लगाउनबाट अनिच्छुक हुनुको कारण नरहेको उहाँले बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले भन्नुभयो, “कोभिशिल्ड विश्वकै सबैभन्दा प्रभावकारी खोपमध्येको एक हो, विश्व स्वास्थ्य संगठन र हाम्रो औषधि नियामक निकायले समेत आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।” र उक्त अनुमतिकै आधारमा हामीले खोप अभियानको सुरुवात गरेको उहाँले प्रष्ट्याउनुभयो । डा. गौतमले कोभिशिल्ड लगाएपछिको असरको अझै विश्लेषण हुन बाँकी नै रहेको बताउनुभयो । “हामीले सन् २०२१ को सुरु महिनामै खोप प्राप्त गरेका छौं, यो खुशीको विषय हो र सबैजनाले खोपको प्रभावकारितालाई लिएर उब्जिएको आशंका अन्त्य गरेर अगाडि बढ्नुपर्छ ।”
अर्का जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले सरकारले चलाएको खोप अभियानसँगै असर र प्रभावकारिता समेटिने सचेतना अभियानमा समेत केन्द्रित हुनुपर्ने बताउनुहुन्छ । उहाँले खोपको प्रकृति, प्रयोगको विधि र उनीहरु समक्ष पुर्याइने औषधिको असरबारे जानकारी पाउनु सर्वसाधारणको अधिकार भएको तर्क गर्नुभयो । “नागरिकको आशंका हटाउन सम्बन्धित निकायले प्रयास गर्नुपर्ने हो र प्रभावकारिता र अन्य असरबारे सर्वसाधारणको कौतुहलता अन्त्य गरेर विश्वासमा लिनु सरकारको जिम्मेवारी हो ।”– डा. पाण्डेले थप्नुभयो ।
विश्वका ३० हजार ब्यक्तिमा कोभिशिल्ड खोप लगाएर अनुगमन गरिएको छ । विभिन्न अध्ययन, अनुसन्धान र क्लिनिकल परीक्षणले पनि खोपको प्रयोग सुरक्षित देखिएको बताउनुहुँदै डा. पाण्डेले बाहिर अफवाह फैलाइए झैं अन्य असर नरहेको प्रष्ट्याउनुभयो । यद्यपि खोप लगाइएपछि स्वास्थ्यमा समस्या देखिने अवस्थाका लागि विज्ञहरु तयार हुनुपर्ने उहाँ सुझाउनुहुन्छ ।
“महामारीलाई जित्न हामी सबैले खोप लगाउन जरुरी छ, यसो भनिरहँदा खोपको प्रयोग सुरक्षित रहेको सुनिश्चित गर्ने जिम्मेवारी सरकारको हो ।”
सरकारी अधिकारी, नेता तथा सेलिब्रिटीलाई पहिलो चरणमा नै खोप लगाइए सर्वसाधारणसहित अग्रपंक्तिमा खटिएकाहरुबीच देखिएको अन्येल हट्ने उहाँले विश्वास ब्यक्त गर्नुभयो ।