एकसय ५९ जना सङ्क्रमित थपिए, २६४ सङ्क्रमणमुक्त, मृत्यु शून्य
गोरखापत्र अनलाइन
काठमाडौं, माघ १९ गते । नेपालमा कोरोना भाइरसका एकसय ५९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ११८ जना पुगेको जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा चार हजार १४५जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका एकसय पाँच जना सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ७५ हजार १५२ वटा पीसीआर परीक्षण भइसकेको छ ।
देशका विभिन्न अस्पतालबाट २६४ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा २६४ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६६ हजार छसय जना पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.३३ मा उक्लेकाे छ ।
पछिल्लो चौबीस घण्टामा काेही पनि सङ्क्रमित मृत्यु नभएकाे मन्त्रालयले उल्लेख गरेको छ । हिजाेसम्म दुई हजार २९ जना सङ्क्रमितकाे मृत्यु भएकाे थियाे ।
हाल दुई हजार ४८९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने दुई हजार ४८९ जना आइसोलेशनमा छन् । क्वारेन्टिनमा ९७ जना मात्र छन् ।