स्वास्थ्य |

बाँकेमा २० संक्रमित निको हुन बाँकी, साढे चार हजार निको भए


सिराज खान
नेपालगञ्ज, माघ २१ गते । बाँके जिल्लाको नेपालगञ्जस्थित भेरी अस्पतालमा रहेको कोभिड १९ विशेष अस्पतालमा उपचार गराइएका २० जना संक्रमित मात्र निको हुन बाँकी रहेका छन् । ती मध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ ।
संक्रमितको संख्या घट्दै गएपछि नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेको कोभिड वार्डलाई हालका लागि बन्द गरिएको छ भने भेरी विशेष कोभिड अस्पतालमा २० जना मात्र संक्रमित निको हुन बाँकी रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले अहिले भेरी विशेष कोभिड अस्पतालमा २० जना मात्र संक्रमित भर्ना रहेकोमा १५ जनाको अवस्था सिकिस्त रहेको बताउनुभयो ।
उहाँले संक्रमित घट्दै गएपछि कोहलपुरको कोभिड वार्डलाई अस्थायी रुपमा बन्द गरिएको जनाउनुभयो ।
उहाँले पाँच जना संक्रमितको अवस्था मध्यम रहेकोले उनीहरुलाई छिट्टै घर पठाइने र सिकिस्त रहेकाहरुको सबै विधि अपनाएर उपचार भैरहेको जनाउनुभयो ।
कोरोना संक्रमितहरु निको भएर घर फर्किने क्रम तीब्र भएको र नयाँ थपिने क्रम घटेकाले केही दिनमै बाँकेलाई कोरोना संक्रमित शुन्य जिल्ला बनाइने आशा उहाँले व्यक्त गर्नुभयो ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेमा हालसम्म ४४ हजार ८७० जनामा गरिएको पिसिआर परीक्षणमा चार हजार ६३२ जनामा संक्रमण पुष्टि भएको छ भने चार हजार ५४३ जना संक्रमणमुक्त भई घर फर्किसकेका छन् । जिल्लामा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
पछिल्लो समयमा आएर जिल्लामा निको हुने दर बढेर ९८ प्रतिशत पुगेको कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
भेरी अस्पतालमा रहेको कोभिड वार्ड ।
तस्विर ः सिराज खान ।