बन्दाबन्दीले बढे पाठेघर क्यान्सरका विरामी, समस्या जटिल बन्दै
यलु जोशी
काठमाडौं, माघ २४ गते । कोरोना महामारीका (कोभिड –१९) कारण गरिएको बन्दाबन्दीले महिलामा हुने पाठेघरको क्यान्सरको समस्या बढाएको छ । कोरोना सर्ने डर तथा बन्दाबन्दीको कारण अस्पताल जान नपाएर पाठेघरमा सामान्य समस्या भएका महिलामा अहिले क्यान्सर रोग भइसकेको स्त्री तथा क्यान्सर रोग विशेषज्ञले जनाएका छन् ।
थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालका स्त्री तथा क्यानसर रोगका विशेषज्ञ कृतिपाल सुवेदीले बन्दाबन्दीको कारण धेरै महिलामा पाठेघरको मुखको क्यान्सर भएको बताउनुभयो ।
समयमा उपचार गरे क्यान्सर रोगसम्म पुग्नुपर्ने अवस्था थिएन उहाँले भन्नुभयो, सामान्य लक्षण देखिएकाहरु पनि बन्दाबन्दी पनि उपचारको लागि अस्पताला नआउँदा सो रोग फैलिएर क्यान्सरसम्म भएको छ ।आफू कहाँ आएको विरामीमध्ये ६ जनामा दुई जनालाई क्यान्सर भएको बताउँनुभयो ।
डा. सुवेदीले पाठेघरको मुखको क्यान्सर अहिले ठूलै समस्याको रुपमा आएको हुनाले यस सम्वन्धी जनचेतनाको आवश्यक रहेको जानकारी दिनुभयो । यता धुलिखेल अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ सुनिला शाक्यले पनि बन्दाबन्दीको कारण पाठेघरका क्यान्सर रोगीहरु धेरै भएको बताउनुभयो ।
उहाँले बन्दाबन्दी खुकुलो भएपछि अस्पतालमा आएका विरामीहरुलाई क्यान्सरको लक्षणले छोइसकेको जानकारी दिनुयभो । बन्दाबन्दीको अगाडि आएका विरामीमा साधारण लक्षणमात्र देखा परेको थियो डा.शाक्यले थप्नुभयो, जुन उपचारले निको हुन्थ्यो अहिले नौ महिना पछि विभिन्न समस्या भएर आएकामा क्यान्सरको लक्षण देखापरिसेको र शल्यक्रिया पनि गर्न नमिल्ले अवस्थामा पुगिसकेका छन् ।
आफूकहाँ आएका दुई जना ४० तथा पाँच जना ५० वर्ष भन्दा माथि उमेरका महिलाहरु पाठेघर क्यान्सर भइसकेको थियो । बन्दाबन्दी हुनुभन्दा अगाडि डाक्टरको निगरानीमा (फलोअप) हुन आग्रह गरेको भए पनि कोभिडको डरले उपचार नपाएपछि अहिले जटिल रोगले छोएको डा. शाक्यको अनुभव छ ।
विरामी पनि उपचारको लागि आउन सकेन त्यसले गर्दा उपचार दिन नसकेकोमा चिकित्सकको गुनासो छ । नेपालमा तीव्र रुपमा पाठेघरको क्यान्सर रोगीको संख्या बढिरहेको जानकारी दिदै उहाँले बन्दाबन्दी पनि एकै पटक थु्प्रियको बताउनुभयो ।महिला समयमा उपचार गरएको खण्डमा यस्ता समस्या नहुने पनि डा. शाक्यको दाबी छ ।
विश्वभरी क्यान्सरका विरामीहरुको तथ्यांक राख्ने ग्लोबोक्यान नामक संस्थाले गरेको अनुमान अनुसार नेपालमा वर्सेनि ५० देखि ७० हजार नयाँ क्यान्सरका विरामी देखापर्छन् । डा.शाक्य भन्नुहुन्छ, नेपालमा जसरी विरामीहरु बढीरहेका छन् सोही मात्रामा नयाँ अस्पताल बनाउन उपकरण र चाहिने जनशक्ति थप्न अति नै आवश्यक छ । चाँडो रोग पत्ता लागे निको हुने यो रोगको उपचारका लागि बिरामीहरु भने निकै ढिलो मात्रै अस्पताल पुग्ने गरेका छन् उहाँले आफ्नो अनुभव सुनाउँदै महिलाहरु लाजको कारण पनि रोग लुकाउने र जचाँउन नआउने पनि धेरै भइको बताउनुभयो ।
कसरी हुन्छ महिलाको पाठेघरको मुखको क्यान्सर
पाठेघरको मुखमा एचपिभी भाइरस प्रवेश गरेको छ भने यौनसम्पर्क सुरु भएपछि असर देखिन सुरु हुन्छ । सेतो पानी बग्ने र योनी चिलाउने जस्ता पाठेघरको मुखको क्यान्सरका लक्षण भएको चिकित्सकहरु बताउँछन् ।
यो ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) को संक्षमणले हुने क्यान्सर हो । यो संक्रमणले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्ने गर्छ । संक्रमण भएको आठदेखि १० वर्षपछि क्यान्सरमा परिणत हुन्छ । महिलालाई पाठेघरको मुखमा क्यान्सर भएन–भएको बारे ‘प्याप स्मेयर टेस्ट’ अर्थात गर्भाशय श्राव परीक्षण गरेर पत्ता लगाउन सकिन्छ । यो विधि पाठेघरको कोषिकामा सामान्य अवस्थामा रहे नहरेको पत्ता लगाउने एउटा सरल र छरितो विधि भएको चिकित्सकहरुको भनाई छ ।
परीक्षणको समयमा पाठेघरको क्यान्सर कुन अवस्थामा छ भन्ने जानकारी लिन सकिन्छ । समयमानै चिकित्सकको सल्लाहमा औषधि सेवन गरेमा रोग निको हुन्छ । सानै उमेरमा विवाह गरेमा, असुरक्षित र सानै उमेरमा यौनसम्बन्ध राखेमा, धेरै बच्चा जन्माएमा, धेरै गर्भधारण गरेमा यो रोग लाग्ने बढी खतरा रहने डा. शाक्यले बताउनुभयो ।