स्वास्थ्य | खुला |

भेरीमा साढे ५३ हजारको कोराना परीक्षणमा पाँच हजार बढी संक्रमित


सिराज खान
नेपालगञ्ज, माघ २७ गते । भेरी अस्पताल नेपालगञ्जमा स्थापना गरिएको पीसीआर प्रयोगशालामा हालसम्म साढे ५३ हजार सर्वसाधारणको कोरोना परीक्षण गरिएको छ ।
गत वैशाख ५ गते भेरी अस्पतालमा स्थापना गरिएको सो प्रयोगशालामा हालसम्म ५३ हजार ४६३ जनाको थ्रोट स्वाब नमूना संकलन गरेर कोरोना परीक्षण गरिएको प्रयोगशालाले जनाएको छ ।
भेरी अस्पतालको पीसीआर प्रयोगशालाका प्रमुख प्रचण्ड गौतमले हालसम्म ५३ हजार ४६३ जनाको थ्रोट स्वाब नमूनाको परीक्षण गरिएको बताउनुभयो । उहाँले परीक्षण गरिएकाहरुमध्ये ५ हजार ४०२ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो ।
प्रयोगशाला प्रमुख गौतमका अनुसार यो प्रयोगशालाले पश्चिम नेपालमै सबैभन्दा बढि र संघिय राजधानी काठमाण्डौपछि सबैभन्दा बढी कोरोना परीक्षण गरेको छ ।
भेरीको प्रयोगशालामा बाँके, बर्दिया, दांग, प्युठान, सल्यान लगायत अन्य जिल्लाहरुबाट आएका नमुनाको परीक्षण गर्नुका साथै ती जिल्लाबाट उपचारका लागि आउने बिरामीहरुको पनि कोरोना परीक्षण हुँदै आएको छ ।
पछिल्लो समयमा आएर परीक्षण पनि घट्दै गएको र संक्रमितहरु भेटिने क्रम पनि निकै कम हुँदै गएको प्रयोगशालाले जनाएको छ ।
भेरी अस्पतालका अनुसार गत चारदिनमा गरिएको परीक्षणमा २१ जना मात्र संक्रमित भेटिएका छन् । सो अवधिमा १२२ जनाको मात्र परीक्षण गरिएको थियो ।
यसैबीच हाल भेरी अस्पतालको कोभिड विशेष वार्डमा २० जना संक्रमितको मात्र उपचार भैरहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति बाँकेले जनाएको छ । ती मध्ये १५ जना संक्रमितको अवस्था गम्भीर रहेको छ ।
होम आइसोलेसनमा पनि १४ जना मात्र रहेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
उहाँले बाँकेका र बाहिरी जिल्लाबाट उपचार गराउन आएका दुबै मिलाएर हालसम्म ३९ महिला र १०३ पुरुष गरी १४२ जनाको कोरोनाबाट मृत्यु भैसकेको बताउनुभयो ।
शुरुको धेरै समयसम्म भेरी अस्पतालमा मात्रै कोरोना परीक्षण हुने गरेकोमा गत केही समययता आएर नेपालगञ्ज मेडिकल कलेज र बागेश्वरी प्रयोगशालामा समेत कोरोना परीक्षण भैरहेको छ ।