स्वास्थ्य |

‘दीर्घरोग भएकाले पनि खोप लगाउँदा समस्या छैन’

गोरखापत्र अनलाइन
काठमाडौं, माघ २७ गते । नेपालमा कोभिड विरुद्धको खोपको दोस्रो चरण सुरु भैसकेको छ तर मानिसमा कोभिड खोप लगाउन हुन्छ कि हुन्न भन्ने द्विविधा छ । एक हप्ता अघि खोप लगाएका एक फन्टलाइनरले भने खोप लगाउँदा कुनै समस्या नभएको बताउनुभएको छ । 

त्यस्तै, कोभिड खोप लगाइसकेपछि साइड इफेक्ट हुन्छ भनेर डर फैलिएको अवस्था छ । अझ मधुमेह, उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्या भोगिरहेका व्यक्तिले कोभिड खोप लगाउन हुन्न भन्ने भ्रम व्याप्त छ तर पहिलो चरणमा कोभिड खोप लगाइसकेका व्यक्तिको अनुभव भने फरक छ ।

मधुमेह र उच्च रक्तचापजस्ता स्वास्थ्य समस्याका हुँदाहुँदै पनि त्रिवि शिक्षण अस्पतालका दन्त चिकित्सा विभागमा कार्यरत प्रल्हाद पाण्डले चिकित्सकको सल्लाहमा कोभिड खोप लगाउनुभयो । उहाँलाई खोपले समस्या उब्जाउँछ कि भन्ने डर थियो तर त्यस्तो कुनै समस्या देखा नपरेको उहाँले बताउनुभयो ।

खोप लगाएको दोस्रो दिन सामान्य रुपमा पाखुरा दुखेको र त्यसबाहेक केही समस्या नदेखिएकोले उहाँ कोभिड खोप सुरक्षित छ भन्नेमा ढुक्क हुनुहुन्छ । प्रस्तुत छ पहिलो चरणमा कोभिड खोप लगाउनुभएका पाण्डेको कोभिड खोप अनुभव ।