कोरोना नयाँ भेरियन्ट, बालबालिकामा सङ्क्रमण उच्च
आशा साह
काठमाडौं, वैशाख २० गते । नेपालमा कोरोनाभाइरस (कोभिड—१९)को पहिलो लहरको तुलनामा नयाँ भेरियन्टको सङ्क्रमण दर उच्च देखिएको छ । यसको प्रभाव १८ वर्ष मुनिका बालबालिमा देखिएको छ ।
बालरोग विशेषज्ञ तथा इशान बाल तथा महिला अस्पताल अस्पतालका निर्देशक डा.आरपी चौधरीका अनुसार नेपालमा कम उमेर समूहका बालबालिका पहिलो लहरको तुलनामा कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण दर निकै बढेको हो ।
उहाँले नेपालमा पछिल्लो सयम कुल संक्रमितको १० प्रतिशत बालबालिमा सङ्क्रमण देखिएको बताउनुभएको छ । ‘पहिलो लहरमा सङ्क्रमित बालबालिको सङ्ख्या, मृत्यु दर र गम्भीर बिरामीको सङ्ख्यामा कमि थियो । तर, पछिल्लो समयमा मृत्यु दर र सङ्क्रमित हुने सङ्ख्या पनि बढ्दै गएको छ,’ उहाँले गोरखापत्र अनलाइनसँग भन्नुभयो, ‘नयाँ भेरियन्ट पहिलाको भन्दा बढी संक्रामक हो । यसको लक्षण पनि चाँडो देखिन्छ । र बच्चामा यसको प्रभाव बढी नै देखिएको छ ।’
नयाँ भेरियन्टबाट संक्रमित बालबालिको अवस्था कस्तो छ ? भन्ने जिज्ञासामा उहाँले सङ्क्रमित बालबालिकाको उमेर, रोगसँग लड्ने क्षमता र परिवारका सदस्यमा देखिएका सङ्क्रमणले गर्दा पनि बच्चाको अवस्था गम्भीर हुने स्थिति सिर्जना हुने बताउनुभयो ।
‘इशान अस्पतामा शल्यक्रियाका लागि आएका दुई बालबालिकाको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुका कुनै प्रकारको लक्षण देखिएन,’ उहाँले भन्नुभयो, ‘तर, रिपोर्ट पोजेटिभ आयो । त्यस्तै केहि दिन पहिला झाडापखला लागेर एउटा बच्चा आएको थियो थियो । उसको कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो ।’
उहाँ भन्नुहुन्छ नेपालमा सङ्क्रमित बालबालिकाका लागि छुट्टै अस्पतालको कमी छ । नेपालमा जुन कोभिड अस्पतालहरु छन्, सङ्क्रमित बालबालिकाको लागि भनेर छुट्याएको पाइनन् । यसले गर्दा बालबालिकामा सङ्क्रमण दर वृद्धि भएमा कयौं बालबालिका उपचारबाट वञ्चित हुनसक्ने सम्भावना हुन्छ ।
‘पाँच–छ महिनाको शिशुमा पनि कोभिड पोजेटिभ देखिन थालेको छ । यस्तो सङ्क्रमित बच्चालाई राख्ने कोभिड अस्पताल कहि स्थापना भएको छैन,’ उहाँ भन्नुहुन्छ, ‘कान्ति बाल अस्पताल पनि सरकारी हो । त्यहाँ पनि सङ्क्रमण बच्चालाई भर्ना लिन मान्दैन ।’ यसतर्फ सरकारले बेलैमा ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो ।
त्यसो त पछिल्लो समय कोरोनाविरुद्ध लड्न खोप अभियान नै चलाइयो । तर, यसमा १८ वर्षभन्दा कम परेका बालबालिका परेनन् । उनीहरुलाई पनि खोप त चाहिँछ नि ? भन्ने जिज्ञासामा उहाँले खोप परीक्षण गर्दा बच्चामा नगरिएको बताउनुभयो । चिनियाँ भ्याक्सिन ५९ भन्दा बढी उमेर भएकालाई दिनै हुँदैन भनेर कुरा आइरहेको छ । खोप बालबालिलाई ट्रयाल नगरेर नदिएको उहाँले बताउनुभयो ।
यता जनस्वास्थ्य विज्ञ डाक्टर समिरमणि दीक्षित भन्नुहुन्छ १८ वर्षभन्दा मुनिकालाई कोरोनाविरुद्धको खोप अभियानमा नपर्नुमा दुई वटा कारण रहेको बताउनुहुन्छ ।
जन स्वास्थ्य विज्ञ डा. दीक्षितका अनुसार एउटा कारण हो, अन्तर्राष्ट्रिय अनुसन्धानले १८ वर्षभन्दा मुनिका कोहि पनि बालकालिकालाई कोरोनाले त्यति ग्रस्त बनाउँदै । र, अर्को यहि कारणले गर्दा अधिकांश खोप १८ वर्षभन्दा मुनिका बालबालिकाका लागि फिजिकल ट्रयाल गरेको छैन ।
त्यसो त स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्ने हो भने गत चैत १ गतेदेखि वैशाख १६ गतेसम्म १० देखि १९ वर्ष उमेरका तीन हजार २९२ जना सङ्क्रमित भएका छन् भने दुई जनाको मृत्यु भइसकेको छ । यस हिसाबले त १८ वर्ष मुनिका बालबालिकालाई पनि त खोप आवश्यक पर्छ हैन ? भन्ने प्रश्नमा उहाँले खोप त सबै उमेर समूहलाई चाहिन्छ र खोप लगाएको राम्रो हो भन्नुभयो ।
‘तर, अहिले हामी महामारीको अवस्थामा छौ । खोप त बन्दै छ । खोपले सबै उमेर समूहलाई उस्तै हिसाबले बचाउन सक्दैन,’ उहाँले गोरखापत्र अनलाइनसँग भन्नुभयो, ‘र, वैज्ञानिकहरुले पहिला के हेर्छ भने सबैभन्दा प्राथमिकतामा कसलाई राख्ने ? जसलाई रोग लाग्यो भने मृत्यु हुन सक्छ र त्यो प्राथमिकतामा १८ वर्ष मुनिका बालबालिका पदैनन् ।’ उहाँले सङ्क्रमण सबै व्यक्तिलाई उहिँ रुपमा हुने बताउनुभयो ।
‘जन्मजात शिशुदेखि सय वर्षका वृद्धवृद्धालाई पनि यो सङ्क्रमण एकैनासले हुन्छ । तर, तीमध्ये कति जनालाई कडा खालको सङ्क्रमण भयो र मृत्यु भयो त्यो हामिले हेर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘तीन हजारमा दुई जनाको मृत्यु हुनु अत्यन्तै न्यून हो । त्यो पनि विभिन्न कारणले गर्दा हो । तर, त्यहि अङ्कमा ६० वर्षको व्यक्ति संक्रमित भयो भने दुई जना मात्रको मृत्यु हुँदैन । भनेपछि ६० वर्षका व्यक्तिमा जोखिम बढि हुनाले प्राथमिकतामा राखिएको हो ।’
उहाँका अनुसार अहिलेको लागि सबैभन्दा जोखिम समूहलाई पहिला खोप दिइएको हो । ६५ वर्षा उमेर माथिका, स्वास्थ्यकर्मी र अग्रपंक्तिलाई । त्यसपछि क्रमशः ६५, ५५, ४५ गर्दै खोप दिइरहेको छ । र अन्त्यमा १८ वर्ष मुनिकालाई खोप दिने भन्ने कुरा छ । किन भने उनीहरुमा सङ्क्रमण कडा खालको हुँदैन । सङ्क्रमण हुन्छ, तर त्यसबाट निस्कने समस्या कडा हुँदैन ।