स्वास्थ्य | प्रदेश |

स्वास्थ्यमा क्षेत्रमा बजेट वृद्धि, स्वास्थ्यकर्मी खुशी   

 डोटी, जेठ १६गते ।  कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणदेखि बिरामीको उपचारमा सधै अग्रपङ्क्तिमा खटिने जिल्लाका स्वास्थ्यकर्मीहरु सरकारले ल्याएको बजेटप्रति निकै खुशी भएका छन् । सरकारले ल्याएको बजेटमा स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेपछि उनीहरु खुशी भएका हुन् । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७८-७९ का लागि स्वास्थ्य क्षेत्रको रु एक खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको बताउनुभएपछि यहाँका स्वास्थ्यकर्मीहरु निकै खुशी भएको जिल्ला स्वास्थ्य कार्यालयका परिवार जियोजन निरीक्षक सूर्य विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय सबै क्षेत्रबाट स्वास्थ्यकर्मी जोखिममा थिए, सरकारले हाम्रा पीडा मर्का बुझेर बजेट ल्याएकाले अब काम गर्नमा झनै हौसला प्रदान भएको छ ।”  

पछिल्लो समय विश्वमै महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण आफ्नो ज्यान नै जोखिममा राखेर काम गरिरहेका स्वास्थ्यकर्मीहरु स्वास्थ्य क्षेत्रमा सरकारले बजेट वृद्धि गरेपछि खुशी भएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विधि भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना कहरको समयमा पनि घरपरिवार नभनेर बिरामी बचाउनमा लागेका थियौँ, सरकारले हाम्रो पीडा बुझेर सम्बोधन गरेको छ, हामी खुशी छौँ ।”    
यस्तै सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि रु ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ । कोभिड–१९ विरुद्धको खोपका लागि रु २६ अर्ब ७५ करोड समेत बजेट विनियोजन गरेको छ । सरकारले विनियोजन गरेको रकम यथाशक्य कार्यान्वयनमा ल्याउन समेत यहाँका स्वास्थ्यकर्मीले माग गरेका छन् ।