भेरीका स्वास्थ्यकर्मी कुटपिटको छानबिन प्रतिवेदन सार्वजनिक
सिराज खान
नेपालगञ्ज, जेठ १९ गते । गत बिहीबार भेरी अस्पताल नेपालगञ्जका नर्स र चिकित्सकमाथि भएको कुटपिटको घटनाबारे विस्तृत अनुसन्धान गर्न बनाइएको छानबिन समितिको प्रतिवेदन बुधवार सार्वजनिक गरिएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको अध्यक्षतामा गठित सात सदस्यीय समितिले तयार पारेको प्रतिवेदनलाई बुधवार अपरान्ह जिल्ला प्रशासन कार्यालय बाँकेमा सार्वजनिक गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पत्रकारहरुमाझ सो प्रतिवेदन सार्वजनिक गर्नुभयो । समितिले मंगलवार मात्रै सो प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाएको थियो ।
प्रतिवेदन सार्वजनिक गर्दै प्रजिअ गेलालले छानबिन समितिले प्रतिवेदनमा विभिन्न सुझाव समेटेको जनाउँदै अस्पताल व्यवस्थापनको कमीकमजोरीलाई पनि औल्याउँदै दोषीलाई कारवाहीको सिफारिस गरेको बताउनुभयो ।
प्रतिवेदनमा घट्नाको सम्पुर्ण पक्षहरुबारे विस्तृत रुपमा जानकारी गराउनुका साथै भविष्यमा त्यस्ता घट्ना नदोहोरिउन भन्ने उद्देश्यले अस्पताल व्यवस्थापन, स्थानीय प्रहरी र प्रशासन तथा प्रदेश र सङ्घीय सरकारलाई विभिन्न सुझाव पनि दिइएको छ ।
प्रतिवेदनमा कुरुवाको सांघातिक आक्रमणलाई कारवाहीको भागिदार बताउँदै, जनशक्ति अभाव, स्वास्थ्यकर्मीको व्यवहार, सुरक्षा व्यवस्था, अप्रयात्त स्वास्थ्य उपकरण र व्यवस्थापनमा धेरै सुधार गर्नुपर्ने जनाइएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले छानबिन समितिले प्रतिवेदनमा समेटेका विषयवस्तुलाई कार्यान्वयनमा लगिने प्रतिबद्धता जनाउँदै त्यसका लागि बुधवारनै अस्पताल व्यवस्थापनसँग बैठक गरेर सुधार गर्नु पर्ने पक्षहरुका बारेमा जानकारी गराइसकेको बताउनुभयो ।
गत बिहीबार राती दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्ली रावतको उपचारका क्रममा भेरी अस्पतालमा निधन भएको थियो । त्यसपछि उनका आफन्तहरुले अस्पतालमा तोडफोड गर्नुका साथै नर्स र चिकित्सकमाथि सांघातिक आक्रमण गरेका थिए ।
आक्रमणमा संलग्न तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरेर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराइसकेको छ ।
घटनाको छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको अध्यक्षतामा सात सदस्यीय छानविन समिति गठन गरिएको थियो ।
समितिमा नेपाल चिकित्सक सङ्घ भेरीका अध्यक्ष डा. विनोद कर्ण, नर्सिंग सङ्घका अध्यक्ष लक्ष्मी ओली, भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठसहित जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधि र अस्पतालका प्रतिनिधि चिकित्सक रहनुभएको थियो ।
तीन दिनमा प्रतिवेदन बुझाउने भनिए पनि समितिले चार दिनमा प्रतिवेदन बुझाएको थियो ।