डायलासिसका विरामीलाई रगतको अभाव
अमरराज नहर्की
तनहुँ, असार १ गते । तनहुँमा रगत अभाव भएपछि यहाँ उपचाररत मृगौलाका विरामीलाई समस्या परेको छ । रगत नहुँदा जिल्ला बाहिर रगत खोज्नु पर्ने अवस्था आएको छ । दमौली अस्पतालमा राष्ट्रिय मिर्गौला उपचार केन्द्रमार्फत सञ्चालित शत्रुध्न मञ्जु डायलासिस केन्द्रमा उपचारत विरामी समस्यामा परेका हुन् ।
कोरोनाको महामारी र निषेधाज्ञाले जिल्लामा रक्तदानका कार्यक्रम न्यून हुँदा रगत अभाव भएकाले डायलासिस गर्नुपर्ने मिर्गौला रोगीको लागि जिल्ला बाहिर खोज्नु पर्ने बाध्यता रहेको मिर्गौला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिनुभयो । “कोरोनाको सङ्क्रमण अघि रक्तदानका कार्यक्रम धेरै हुने भएकाले विरामीलाई समस्या थिएन, पीडित आफैँले रगत खोज्नुपर्ने अवस्था आएको छ’’ पण्डितले भन्नुभयो । विरामीले पोखरासम्म पुगेर रगत ल्याउने गरेका छन् भने कतिपयले आफन्त वा चिनेजानेका व्यक्तिलाई रक्तदानका लागि ल्याउने गरेको उहाँले जानकारी दिनुभयो । भानु नगरपालिका–४ चुँदीका मुरली रानाभाटले रगत अभाव भएकाले खोज्दै धाउनु पर्दा समस्या परेको बताउनुभयो । पहिला रगतको समस्या थिएन, निषेधाज्ञा भएपछि पाउन मुस्किल छ’’ रानाभाटले भन्नुभयो ।
वि.सं. २०७२ साल मङ्सिर ३ गते देशभरका जिल्ला अस्पताल मध्ये दमौली अस्पतालमा पहिलो पटक डायलासिस केन्द्र स्थापना भएको थियो । केन्द्रमा नौ वटा डायलासिसका उपकरण रहेका छन् । हप्ताको एक पटक गर्ने तीन जना हप्ताको तीन पटक गर्ने दुई जना बाँकी हप्ताको दुई पटक गर्ने गरी ७० जनाले नियमित डायालासिस गरिरहेका छन् । तनहुँ सहित कास्की, स्याङ्जा, लमजुङ र गोरखा जिल्लाका मिर्गौला पीडितलाई समेत डायलासिस सेवा प्रदान गरिएको केन्द्रले जनाएको छ । केन्द्रमा नौवटा उपकरण सञ्चालनमा रहेको छ ।
केन्द्रका लागि मञ्जु उपाध्यायले आफ्ना स्व. पति शत्रुधन उपाध्यायको स्मृतिमा शुरुमा रु एक करोड सहयोग गर्नुभएको थियो भने पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गर्नुभएको थियो । जिल्लामा डायलासिसका लागि सेवा नहुँदा मिर्गौला पीडितलाई यस अगाडि अन्यत्रै जिल्लामा गएर सेवा लिनुपर्ने बाध्यता थियो ।