स्वास्थ्य |

देशभर एक हजार ४३३ खोप केन्द्र थप

 
काठमाडौं, साउन २३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर एक हजार ४३३ खोप केन्द्र थप गरेको छ । कोरोना भाइरसविरुद्धको खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार देशभर एक हजार ४३३ खोप केन्द्र थप गरिएको हो ।
थप गरिएको खोप केन्द्रसहित अहिले देशभर चार हजार ४२२ खोप केन्द्र पुगेको उहाँले बताउनुभयो । यसअघि देशभर दुई हजार ९८९ खोप केन्द्र सञ्चालनमा थियो । यद्यपी देशभर १६ हजार खोप केन्द्र रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो । तर, उक्त खोप केन्द्र विस्तारै प्रयोगमा ल्याउँदै जाने उहाँले बताउनुभयो ।
‘अहिले केही खोप केन्द्र थप गरिएको छ । पछि अझै खोप आउँदै जान थालेपछि पुनः खोप केन्द्र थप गर्दै जान्छौं,’ उहाँले भन्नुभयो । त्यस्तै काठमाडौं उपत्यकामा ८३ खोप केन्द्र थप गरिएको छ । थप गरिएपछि उपत्यकामा १४१ खोप केन्द्र पुगेको छ । यसअघि उपत्यकामा ६६ खोप केन्द्र सञ्चालनमा रहेको थियो ।
सरकारले २०७७ माघ १४ गतेदेखि नेपालमा कोरोनाविरुद्धको खोप लगाउन शुरु गरेको हो । खोप अभियानअन्तर्गत अहिलेसम्म नेपालमा ४४ लाख तीन हजार २१ जनाले पहिलो मात्रा र २२ लाख आठ हजार ५५ जनाले पूर्ण मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 
Seen by Sampada at 14:24