स्वास्थ्य |

एक कराेड आठ लाख मात्रा खाेप ल्याइयाे, थप ल्याइँदै

महिमा देवकाेटा/ दृश्यमा मनाेजरत्न शाही/केशब गुरूङ्ग

काठमाडौं, साउन २५ गते । नेपालमा कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत आइतबार साँझसम्म ४४ लाख ५४ हजार जना नागरिकले खोपको पहिलो मात्रा लगाइसकेका छन् । यो कुल जनसङ्ख्याको १४.६६ प्रतिशत हो । त्यस्तै दोस्रो मात्रा (पूर्ण खोप) २४ लाख २३ हजारले लगाइसकेका छन् । यो कुल जनसङ्ख्याको ७.९८ प्रतिशत रहेको बाल स्वास्थ्य तथा खोप सेवा शाखा  प्रमुख डा. झलक गौतमले बताउनुभयो ।
 प्रमुख गौतमका अनुसार खोपको पहिलो मात्रा पाउने र पूर्ण पाउनेको प्रतिशत पनि क्रमशः बढाउँदै लगिने छ । नेपालमा २०७७ माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान शुरु गएको थियो । काठमाडौं उत्पकामा १७ वटासहित देशभर १२० केन्द्रबाट खोप दिन शुरु गरिएको थियो । अहिले खोप केन्द्र बढेर एक हजार ४३३ पुगिसकेको छ ।
नेपालमा आइतबारसम्म करिब एक करोड आठ लाख ६० हजार कोरोना भाइरसविरुद्धको खोप प्राप्त गरिसकेको उहाँले बताउनुभयो । थप खोपहरु ल्याउने तयारी भइरहेको जानकारी दिँदै उहाँले खोप खरिदका लागि अरु खोप कम्पनीहरुसँग वार्ता भइहरको पनि जानकारी दिनुभयो । र यसका लागि निरन्तर सम्पर्कमा रहेको उहाँले बताउनुभयो ।
‘खोप खरिदका लागि नेपाल सरकारले सबै खालको तरिका अवलम्बन गरेको छ,’ उहाँले भन्नुभयो, ‘कोभ्यास सुविधाबाट हामीले केही खोपहरु पाउँदै छौं । यसका लागि हामीले प्रशासनिक प्रक्रियाहरु सबै पूरा गरिसकेका छौं । यस प्रक्रियाबाट हामीले केही खोपहरु प्राप्त गरौं र अरु प्राप्त गर्ने लाइनमा छौं ।’
त्यस्तै साउन २५ गतेदेखि कोभिशिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा पर्खिरहेका करिब १३ लाख ६८ हजार नागरिकलाई अष्ट्राजेनिकाको खोप दिँदै छौं । १० दिनभित्र उहाँहरुलाई खोप दिइसक्ने प्रमुख गौतमले जानकारी दिनुभयो । नेपाल सरकारले अहिलेसम्म भारत, चीन, अमेरिका, भूटान र जापानबाट खोप प्राप्त गरिसकेको छ ।