त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्याथीले कोरोना खोप पाउने
काठमाडौं, साउन २७ गते । कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई अष्ट्राजेनिका वा भेरोसेलको कोभिड खोप दिइने भएको छ । स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक गौतमले त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्याथीहरुलाई तत्काल खोप दिने निर्णय भएको बताउनुभयो ।
उहाँका अनुसार काठमाडौंमा प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन सक्नेछन् । साथै खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु पर्ने उहाँले बताउनुभयो ।
खोप दिने मिति भने स्वास्थ्य कार्यलयले तय गर्ने उहाँले बताउनुभयो । त्रिविले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ ।