स्वास्थ्य | प्रदेश |

बागलुङका ५७ स्वास्थ्य संस्थामा प्रसूति गृह

नवीन शिशिर विक
बागलुङ, भदौ ६ गते । बागलुङका ५७ वटा स्वास्थ्य चौकीमा प्रसूति गृह स्थापना गरिएको छ ।  नेपाल सरकारले तयार गरेको मापदण्ड पूरा गरेर प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा प्रसूति गृह सञ्चालन गरिएको हो । गाउँ गाउँका स्वास्थ्य चौकीमा प्रसूति गृह स्थापना भएपछि घर हुने सुत्केरीको संख्या कमी हुँदै गएको छ । 
आफ्नै गाउँ ठाउँको स्वास्थ्य चौकीमा प्रसूति गृह स्थापना हुँदा गर्भवती नियमित गर्भ परीक्षणको लागि आउनुका साथै संस्थागत सुत्केरीको संख्यामा वृद्धि भएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिनुभयो । 
उहाँका अनुसार बागलुङ नगरपालिकामा छ, काठेखोला गाउँपालिकामा सात, ताराखोला गाउँपालिकामा चार, तमानखोला गाउँपालिकामा तीन, ढोरपाटन नगरपालिकामा पाँच, निसीखोला गाउँपालिकामा पाँच, बडिगाड गाउँपालिकामा आठ, गलकोट नगरपालिकामा छ, बरेङ गाउँपालिकामा तीन र जैमिनी नगरपालिकामा आठ वटा प्रसूति गृह स्थापना गरिएको छ । 
नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पूरा गरी सम्बन्धित स्थानीय तहले प्रसूति गृह सञ्चालन गर्न पाउँछन् । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भए पछि भौगोलिक कठिनाई तथा सहज स्वास्थ्यको पहुँचमा नभए, आफ्नै वडामा भएको स्वास्थ्य संस्था पनि पायक नपर्ने व्यवहारिक कठिनाइलाई ध्यानमा राखेर स्थानीय तहले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी प्रसूति गृहसमेत सञ्चालन गरेका छन् । 
स्वास्थ्य चौकीमा नेपाल सरकारले जनशक्ति व्यवस्थापन गरे पछि सामुदायिक स्वास्थ्य एकाईमा सम्बन्धित स्थानीय तहले जनशक्तिmको व्यवस्थापन गर्दै आएका छन् । प्रसूति गृह सञ्चालन गर्न एनम र स्टार्फ नर्स गरी दुई जना प्राविधिक जनशक्तिm र एक जना सहयोगी कर्मचारी हुनुपर्छ । 
ढोरपाटन नगरपालिकाले वडा–४ खुंगाको धिरीमा सञ्चालित सामुदायिक स्वास्थ्य इकाईको प्रसूति गृहमा आन्तरिक स्रोतबाट जनशक्तिm व्यवस्थापन गरेको वडाध्यक्ष तिलक पुनले जानकारी दिनुभयो । 
जिल्लामा ५८ वटा स्वास्थ्य चौकी, तीन वटा प्राथमिक स्वास्थ्य चौकी ४१ वटा सामुदायिक तथा सहरी स्वास्थ्य केन्द्र छन् । स्वास्थ्य चौकीमा भएका प्रसूति गृहले सामान्य प्रकृतिको प्रसूति सेवा दिन्छन् । अप्रेसन गर्नुपर्ने बिरामी प्राथमिक स्वास्थ्य केन्द्र वा धौलागिरि अस्पतालमा रिफर हुन्छन् । 
दुर्गम क्षेत्रका प्रसूति गृहलाई फेयरमेड फाउन्डेसनद्वारा सञ्चालित ग्रामिण स्वास्थ्य सुधार परियोजनाले आधुनिक सुत्केरी बेड, बेवी वार्मर मेसिन सहयोग गर्दै आएको छ । परियोजनाले गत आर्थिक वर्षमा ११ वटा नयाँ प्रसूति गृह स्थापना गरेको थियो ।