स्वास्थ्य |

'एन्टिबडी' बनिसकेपछि तेस्राे लहरकाे असर पनि कम हुन्छ

विष्णु पाण्डेय,दृश्यमा मनाेजरत्न शाही/ केशब गुरूङ्ग

काठमाडौं, भदौ १६ गते । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले केही दिनअघि गरेको सेरोप्रिभेलेन्स सर्भेक्षणमा गरिएको १३ हजार १६१ जनाको परीक्षणमा ६८.६ प्रतिशतमा कोभिड – १९ एन्टिबडी देखिएको छ । नेपालका सात वटै प्रदेशमा गरिएको सर्भेक्षणबाट सो नतिजा प्राप्त भएको सर्भेक्षणमा संलग्न स्वास्थ्यविद् समिरमणि दीक्षितले बताउनुभयो ।

यो रिपोर्टले समाजमा कति व्यक्तिहरु कोरोना संक्रमित भए र अहिले उनीहरुको एन्टिबडीको अवस्था कस्तो छ भन्ने कुरा पत्ता लगाउन सजिलो हुने उहाँले बताउनुभयो । यो रिपोर्टमा कोरोना संक्रमण भए/नभएका, खोप लगाए/नलगाएका सबै व्यक्तिहरुलाई समेटिएको उहाँको भनाइ छ ।

अहिले विकसित भैरहेको एन्टिबडी नाै महिनासम्म रहन सक्ने उहाँको भनाइ छ । “शरीरमा रोग प्रतिरोधी क्षमताको अवधि यति नै हुन्छ भनेर भन्न त सकिँदैन तर अहिलेको यो कोरोना भाइरसविरुद्धको खोपले विकास गरेको एन्टिबडीलाई हेर्ने हो भने छ महिनादेखि नौ महिनाको अवधिसम्म एन्टिबडी रहन सक्छ भन्ने देखिन्छ ”उहाँले भन्नुभयो । तर एन्टिबढी मात्र सबै थाेक हाेइन । एन्टिबडी बनाउने काेषिका हुन्छ त्यसले स्मरणमा राख्न सक्छ र त्याे एक वर्ष र जीवन भर रहनसक्छ । त्यसैले शरीरमा एन्टिबडी नभए पनि संक्रमण हुने वितिकै एन्टिबडी बनाउने काेषिकाहरूले त्यसलाई मेमाेरीमा राख्नेे हुनाले पुनः तत्कालै एन्टिबडी उत्पादन गर्ने उहाँले बताउनुभयाे ।