स्वास्थ्य |

पाल्पामा अक्सिजन प्लान्ट सञ्चालित भयाे

रेखीराम राना
पाल्पा, भदौँ १७ गते । पाल्पामा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । जिल्ला अस्पताल पाल्पामा अक्सिजन प्लान्ट सञ्चालन भएपछि कोरोना सङ्क्रमित बिरामीको उपचार गर्न सहज हुने भएको छ । कोरोना सङ्क्रमित बिरामीको उपचारमा अक्सिजनको अभाव हुन नदिन जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको जनाएको छ ।
नेपाल सरकारले गत २०७८ जेठ ४ गते अक्सिजन प्लान्ट सञ्चालन गर्नका लागि एक करोड ५० लाख बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट प्रतिष्पर्धाको आधारमा एक करोड २८ लाखमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरिएको थियो ।
अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन गर्ने पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताउनुभयो । दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन भएपछि अब पाल्पामा अक्सिजनको अभाव नहुने अध्यक्ष पाण्डेयले बताउनुभयो ।
पाल्पाका विभिन्न अस्पताललाई आवश्यक पर्ने अक्सिजन समेत अब यहीबाट सप्लाइ गर्न सकिने अस्पतालले जनाएको छ । पाल्पा अस्पलताललाई कोरोना महामारीको बेला दैनिक १५ सिलिण्डर आवश्यक थियो । ‘अहिले अवस्था सहज भएका बेला दैनिक ३/४ सिलिण्डर आवश्यक हुन्छ पाल्पा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. जगदीश कुँवरले भन्नुभयो बढी भएको अक्सिजन अन्य अस्लाई मागबमोजिम दिन सकिन्छ ।’
अक्सिजन उत्पादन गर्ने उपकरण दुई महिनाअघि नै पाल्पा अस्पतालमा आइपुगेपनि उक्त उपकरण जडान गर्न ढिला भएको थियो । ‘रकम अभावले अक्सिजन प्लान्टका उपकरण राख्ने संरचना बनाउन ढिला भयो उपभोक्ता समितिका अध्यक्ष नवराज न्यौपानेले भन्नुभयो अक्सिजन उत्पादन अत्यावश्यक भएकाले जसोतसो काम सम्पन्न भयो ।’