स्वास्थ्य | अन्तरवार्ता |

'मास्क लागाउँदा मुखको छालामा असर पर्न सक्छ'

डा.प्रज्वल पुडासैनी

विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९को रोकथाम गर्न मास्कले निकै महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । हेर्दा सामान्य देखिने तर जीवन बचाउन कोसेढुङ्गा मानिएको मास्कको प्रयोगले कोभिड–१९ को फैलावट रोक्न सशक्त भूमिका खेलेको छ । मास्कको उचित र प्रभावकारी प्रयोगका निमित्त यसले मुख, नाक, र चिउँडो पूरै छोप्नुपर्ने हुन्छ । मास्कले धूलोका कणहरु र श्वासप्रश्वासकाे माध्यमबाट सर्ने रोगको रोकथाम गर्न निकैे मद्दतगर्छ । जनमानसमा मास्कको प्रयोगबारे सचेतना फैलिरहेको छ, धेरै मानिसले सही ढङ्गले मास्क लगाए कोभिड लगायत अन्य स्वासप्रस्वासबाट सर्ने रोगको रोकथामका लागि निकै ठूलो टेवा पुग्ने पनि बुझ्न थालेका छन् । सामान्यतया धेरै मानिसले सर्जिकल मास्क प्रयोग गर्ने गरेको देखिएको छ साथै कपडाका मास्क र एन ९५ मास्क पनि धेरैले प्रयोग गरेको देखिएको छ ।
मास्क धेरै समयसम्म लगाईराख्नु पर्ने र एकपटक मास्क लगाएपछि पटक पटक निकाल्नु नहुने, हातले छुन नहुने हुँदा मास्कले ल्याउने सामान्य समस्या र मास्क लगाएकाले गर्नु पर्ने अनुहारको हेरचाहबारे हामी सबैले जान्नु निकै जरुरी छ ।
अनुहारमा मास्क लगाएको ठाउँमा चिलाउने, राता डाबरहरु आउने, छाला सुक्खा हुने, ओठ फुट्ने, छाला निस्किने, घमौरा जस्ता बिमिराहरु आउने, डण्डीफोर आउने, घाऊ हुने, घाऊ ठीक भइसकेपछि पनि कालो दाग बस्ने, मास्कमा प्रयोग भएको कपडाका कारण चिलाउने–पोल्ने पानीफोका आउने, अनुहारमा चायाको एलर्जी हुने जस्ता लक्षण प्रमुख रुपमा देखिन्छन् ।
मास्क लगाएको ठाउँमा हुने यस्ता लक्ष्यणहरु निर्मुल गर्न हामीले अनुहार हेरचाहका विधि अपनाउन आवश्यक छ ।
पहिलो आफ्नो अनुहारलाई बिहान उठे छि, राती सुत्नु अघि र पसिना आएपछि हल्कासँग मनतातो पानीले धुने साथै मास्क लगाउनु अघि र लगाइसकेपछि भ्यासलिन जस्ता मोस्चराइजर प्रयोग गर्ने , मास्क लगाएका ब्यक्तिमा ओठ फुट्ने समस्या आउने हुँदा ओठमा पानि भ्यासलिनको नियमित प्रयोग गर्ने । साथै मास्कलाई सेनिटाइजरले सफा नगर्ने मास्क लगाउने ठाउँमा मेकअप नलगाउने (मेकअपले डण्डीफोरहरु निकाल्न सक्छ ) । आफ्ना लागि उचित मास्क को प्रयोग गर्ने, अनुहारमा नाक मुख र चिउँडोमा ठीक्क बस्ने खालको, तीनवटा पत्र भएको मास्क लगाउने र मास्क लगाएको ठाउँमा चिलाउने, पोल्ने, दुख्ने, बिमिरा आउने भएमा तुरुन्त मास्क हटाउने र नजिकको छाला रोग विशेषज्ञ चिकित्सकको सल्लाह लिने ।
मास्क लगाउनु अहिलेको अबस्थामा निकै महत्वपूर्ण भएकाले मास्कबाट छालामा हुने यस्ता लक्षणहरु रोकथाम गर्न निकै जरुरी छ । मास्क लगाउनु अघि भ्यासलिन जस्ता मोस्चराइजर लगाएर मात्र मास्क लगाएमा मास्क को घर्षणका कारण हुने बिमिरा तथा घाउहुने संभावना निकै कम हुनेगर्छ । भीडभाड नभएको ठाउँमा र यदि हातहरु सफा छन् र सेनिटाइजरकाको उचित प्रयोग भएको छ भने हरेक एक घण्टामा पाँच मिनेट मास्क हटाउन सकिन्छ । एउटै मास्क पटकपटक प्रयोग नगर्ने र मास्कको नियमित उचित प्रयोग गरे हामी सबै मिलेर कोरोनाको सङ्क्रमण कम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छांै।