स्वास्थ्य | प्रदेश |

चन्दा उठाएको पैसा थुप्रियो, एम्बुलेन्स आएन

नवीन शिशिर विक
बागलुङ, असोज ८ गते । धौलागिरि अस्पताल बागलुङमा सुविधा सम्पन्न एम्वुलेन्स खरिदका लागि अस्ट्रेलियामा रहेका बागलुङबासीहरुले आर्थिक सङ्कलन गरी २८ लाख रुपियाँ पठाए पनि एम्बुलेन्स आएको छैन ।

जिल्लावासीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर चन्दा उठाएको रकम अलपत्र परेको स्थानीयको गुनासो छ । “प्रवासबाट पैसा त आयो तर एम्वुलेन्स खरिद प्रक्रिया अलपत्र छ” एक स्थानीयले भन्नुभयो । कोरोना तथा अन्य रोगका जटिल बिरामीलाई पोखरा, काठमाण्डौ रिफरगर्दा सुविधा पुग्ने एम्बुलेन्स खरिदको लागि बागलुङ अष्टे«लियन कमिटी सिड्नीमा रहेका सुमन खडकाको टोलीले आर्थिक संकलन गरेको थियो ।

धौलागिरि अस्पताल व्यवस्थापन समितिले खरिद गर्न चाहेको ‘टु ह्वील’ एम्वुलेन्स स्वास्थ्य मापदण्डअनुसार खरिद गर्न नपाईने र फोर ह्वील खरिद गर्न रकम अपुग भएपछि प्रवासीले गाँस काटेर पठाएको पैसा अलपत्र परेको हो । सुविधा सम्पन्न फोर ह्वल एम्बुलेन्सको बजार मूल्य करिब ५५ लाख रुपियाँ पर्ने धौलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले जानकारी दिनुभयो ।

प्राप्त रकमको क्षमताअनुसार एम्बुलेन्स खरिदको अनुमति माग्दा मापदण्ड बाधक भएको र स्वास्थ्य मन्त्रालयमा थप रकम माग गर्दा पैसा प्राप्त नभएको रानाले बताउनुभयो । फोर्स कम्पनीको टु ह्वील एम्बुलेन्स खरिदका लागि कम्पनीलाई पेश्कीसमेत पठाइएको उहाँले बताउनुभयो ।

‘विदेशमा गास काटेर पठाएको पैसा अलपत्र छ’ अध्यक्ष रानाले भन्नुभयो– ‘सरकारले न अनुमति दिन्छ, न पैसा थप्छ ।’ धौलागिरि अस्पतालमा हाल एउटा मात्र जिप प्रकृतिको पुरानो एम्बुलेन्स छ । करिब १० बर्ष पुरानो एम्बुलेन्स पटक पटक मर्मत गर्नुपर्दा खर्च धेरै हुने र विरामी बाटोमा अलपत्र पर्नेगरेको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले बताउनुभयो ।

स्वास्थ्यमन्त्री, सचिव, विभाग प्रमुख सबैलाई अस्पतालको आवश्यकताबारे जानकारी गराइए पनि कार्यान्वयन नभएको अध्यक्ष रानाको गुनासो छ । पछिल्लो पटक मन्त्रालयले कुनै दाताबाट एम्बुलेन्स प्राप्त भएको खण्डमा उपलब्ध गराउने आशयको पत्र पठाएको उहाँले जानकारी दिनुभयो ।
अस्पतालमा दैनिक दशदेखि पन्ध्र जना रिफरका बिरामी आउने गरेको अस्प्तालले जनाएको छ । एम्बुलेन्स उपलब्ध नहुँदा निजी सवारीमा महङ्गो भाडा तिरेर पोखरा, काठमाडौं लैजान स्थानीयहरु बाध्य भएको अस्पतालको भनाइ छ ।