स्वास्थ्य |

काठमाडौं उपत्यकामा ७३ प्रतिशतद्वारा पूर्ण मात्रामा लगाए कोरोनाविरुद्वको खोप

काठमाडौं, असोज १४ गते । काठमाडौं उपत्यकामा ७३ प्रतिशतले कोरोनाविरुद्वको पूर्ण मात्रा खोप लगाएका छन् । पूर्ण मात्रा खोप लगाउनेहरुको संख्या १५ लाख ६३ हजार सात सय ३४ रहेको छ । पहिलाे मात्रा खोप लगाउने ७६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले गाेरखापत्र अनलाइनलाई बताउनुभयो।

लक्षित जनसङ्ख्या २१ लाख २९ हजार ७७३ रहेको उपत्यकाकाे काठमाडौं जिल्लामा मात्रै ७४ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने ७८ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । काठमाडौंमा लक्षित जनसंख्या १५ लाख ६३ रहेको छ ।

यस्तै, ललितपुरमा पूर्ण मात्रा खोप लगाउनेको जनसङ्ख्या ६९ प्रतिशत रहेको छ भने पहिलो मात्रा खोप लगाउनेको जनसङ्ख्या ७६ प्रतिशत रहेको छ । ललितपुरमा लक्षित जनसङ्ख्या तीन लाख ८२ हजार ८६० रहेको छ । 

भक्तपुरमा पूर्ण मात्रामा खोप लगाउने ७५ प्रतिशत छन् भने पहिलो मात्रा खोप लगाउने ६३ प्रतिशत छन् । भक्तपुरमा लक्षित जनसङ्ख्या दुई लाख ४६ हजार आठ सय ५१ रहेको छ ।

सरकारले असोज मसान्तभित्र ३३ प्रतिशत, पुस मसान्तसम्म दुई तिहाई र चैत्र मसान्तभित्र सबै लक्षित जनसङख्यालाई खोप लगाउने जनाएको छ ।