स्वास्थ्य |

ढाड दुखाई, निदान र उपचार 

डा.प्रवीण श्रेष्ठ

नव शरीर विशाल छ, अथाह छ । यो आफैँमा एउटा ब्रह्मान्ड पनि हो । यसका प्रत्येक सूक्ष्म अङ्ग र तन्तुका आ–आफ्नै विशेष महìव हुन्छ । ती सूक्ष्म अङ्गमा आइपर्ने सानातिना खराबीले गर्दा पनि शारीरिक समस्या उत्पन्न भइराखेको हुन्छ । मेरुदण्ड अथवा ढाड पनि त्यस्तो अङ्गमा पर्दछ । दैनिक जीवनमा मेरुदण्डको प्रयोग अत्यधिक हुन्छ । मेरुदण्ड भन्नाले गर्धनदेखि पुठ्ठा (हिप)को अन्तिम भाग (पुच्छरको हड्डी)सम्मको अङ्गलाई भनिन्छ । हाम्रो शरीरमा सबैभन्दा बढी चलायमान हुने एक अङ्गमा पर्दछ मेरुदण्ड । सम्पूर्ण मेरुदण्डमध्ये गर्धन र ढाड अथवा कम्मर सबैभन्दा ज्यादा चल्ने भाग हुन् । फलस्वरूप तिनै भागमा सबैभन्दा बढी समस्या देखिन्छ ।
त्यसमा पनि ढाड (कम्मर) गर्धनभन्दा बढी महìवपूर्ण हुन्छ किनभने यसले शरीरको सम्पूर्ण भारलाई थाम्ने काम गर्दछ ।
ढाडका विभिन्न समस्यामध्ये दुखाइ एक प्रमुख समस्या हो । ढाडसम्बन्धी जुनसुकै समस्या हुँदा यसको लक्षण दुखाइबाटै सुरु हुन्छ । त्यसैले ढाडको दुखाइ एक समस्या पनि हो र लक्षण पनि ।
मेरुदण्डको बनावट
मेरुदण्डलाई अङ्ग्रेजीमा स्पाइन भनिन्छ । मेरुदण्डमा जम्मा ३३ वटा हड्डीका टुक्रा हुन्छन्, जसलाई अङ्ग्रेजीमा भर्टिब्रा भनिन्छ । तीमध्ये गर्धनमा सातवटा, मध्यढाडमा १२ वटा, ढाड या कम्मरमा पाँचवटा, तल्लो कम्मरमा पाँचवटा र पुच्छरमा चारवटा भर्टिब्रा हुन्छन् । यसरी सम्पूर्ण मेरुदण्डलाई माथिदेखि तलसम्म पाँच भागमा विभाजित गर्न सकिन्छ ।
गर्धन या ढाडको मूल नसा अर्थात् सुसुम्ना मेरुदण्डको बीचबाट मस्तिष्कको तल्लो भाग अथवा गर्धनदेखि पुच्छरसम्म पुगेको हुन्छ । सुसुम्नाबाट ३१ जोडी नसा दायाँ र बायाँ निस्की हात र खुट्टासम्म पुगेका हुन्छन् । यसरी निस्किएका प्रत्येक नसाको अवस्थितिअनुसार नाम राखिएको छ । उदाहरणका लागि गर्धनमा निस्किएका आठवटा नसालाई क्रमैसँग C1, C2, C3, C4, C5, C6, C7, C8  भनिन्छ । त्यस्तै मध्यढाडको नसालाई T1 देखि T 12 कम्मरको नसालाईL1 देखि L5 तल्लो कम्मरको नसालाई क्ज्ञ देखि S1 र पुच्छरको नसालाई S5 भनिन्छ ।
ढाड या कम्मरमा मेरुदण्डको अन्य भागमा भन्दा ज्यादा समस्या आउँछ । चोटपटक लागेमा या नसा च्यापिएमा यही भागमा बढी असर पर्दछ । यसको मुख्य कारण हो सम्पूर्ण मेरुदण्डमा कम्मरको भाग सबैभन्दा लचकदार हुनु, यही भागले सम्पूर्ण शरीरको भार थेगेको हुन्छ । मानिस उठ्दा, बस्दा, हिँड्दा, दौड्दा, नाच्दा आदि विभिन्न आसनमा यही कम्मर बढी लच्किन्छ ।
यदि मूल नसा अर्थात् सुसुम्नामा चोटपटक लाग्यो अथवा खराबी भयो भने त्यसले दुवैपट्टि हातखुट्टा नचल्ने अर्थात् प्यारालाइसिस हुने वा दुवैपट्टिका खुट्टा नचल्ने समस्या आउँछ । त्यस्तै हाँगा नसामा मात्रै समस्या परेमा त्यसले एकापट्टिको हात, खुट्टा या औँलामा असर परी दुख्ने या पछि नचल्ने समस्या आउँछ ।
मेरुदण्डमा हड्डी र नसा (स्नायु) बाहेक अर्को एउटा महìवपूर्ण तन्तु पनि हुन्छ मांसपेशी । शरीरको हरेक आसनमा मेरुदण्डको बनावटलाई प्राकृतिक रूपमा र स्थिर रूपमा कायम राख्नका लागि मांसपेशीले महìवपूर्ण भूमिका खेलेको हुन्छ । त्यति मात्रै नभई मांसपेशी एक बलियो तन्तु हो, जसले मेरुदण्ड र नसालाई विभिन्न रोग तथा चोटबाट बचाउन ठूलो योगदान पु¥याएको हुन्छ ।
मेरुदण्डका ३३ वटा हड्डीमध्ये अधिकांश हड्डीका बीचमा एक प्रकारको तन्तु वा सेतो मासु पनि हुन्छ, जसलाई डिस्क भनिन्छ । डिस्कले गर्दा मेरुदण्डको त्यो भाग लचकदार र ज्यादा चल्न–खुम्चन सक्ने हुन्छ । हामी बस्दा, उठ्दा, निहुरिँदा, कम्मर चलाउँदालगायत विभिन्न शारीरिक काम र कसरत गर्दा सबैभन्दा चल्ने मेरुदण्डको भाग यही हो । त्यसैले यस्ता शारीरिक चालले गर्दा कम्मरको भाग क्रमशः खिइँदै जान्छ र त्यसका नसा क्रमशः कमजोर पर्दछन् । मानव शरीर क्रमशः खिइँदै जाने क्रममा हुन्छ र अन्त्यमा सम्पूर्ण शरीरकै खराबी भई मृत्यु हुन्छ । त्यसैगरी ढाडका विभिन्न भाग जस्तै हड्डी, नसा, डिस्क, मांसपेशी आदि पनि खिइँदै जान्छन् ।

ढाड दुखाइका कारण
ढाडमा जम्मा तीन प्रकारका तन्तु हुन्छन् : मांसपेशी, हड्डी र नसा । यी तीन तन्तुमध्ये कुनै एकको कारणले गर्दा ढाड दुख्ने समस्या हुने गर्दछ । यी तीन एकापससँग सम्बन्धित पनि हुन्छन् र एकले गर्दा अर्कोलाई असर पर्न सक्ने सम्भावना पनि रहन्छ ।
ढाड दुखाइका विभिन्न समस्या र कारणमध्ये मांसपेशी पनि एक हो । मांसपेशीका कारणले हुने दुखाइ ढाड दुखाइको सबैभन्दा धेरै देखिने कारणमा पर्दछ । मांसपेशीले गर्दा ढाड चलायमान रहन्छ । यसैले गर्दा मेरुदण्डले चौबिसै घण्टा सहज काम गर्दछ तर यसरी हरपल अनवरत काम गर्दा मांसपेशी पनि कमजोर हुन्छ र कहिलेकाहीँ मांसपेशी खुम्चिने क्रममा फेरि आफ्नो पुरानो अवस्थामा फर्कन सक्दैन । जब मांसपेशी कमजोर पर्दछ वा मांसपेशी थाक्दछ यसलाई खुम्चिन र फैलिन गाह्रो हुन्छ ।
एकचोटि खुम्चिएको मांसपेशी फेरि फैलिन सक्दैन । धेरैबेरसम्म खुम्चिएर बस्दा मांसपेशी झनै कमजोर र थकित भएर जान्छ । यसरी मांसपेशी धेरैबेरसम्म खुम्चिएर बसेपछि शरीरको उक्त अङ्गको मांसपेशीमा पीडा उत्पन्न हुन्छ ।
हाम्रो शरीरका विभिन्न अङ्गमध्ये गर्धन र ढाडमा धेरै र ठूला मांसपेशी हुन्छन् । ती मांसपेशीले गर्धन, कम्मर चलाउने काम गर्दछन् । यदि हामी एउटै आसनमा धेरैबेरसम्म बसिरह्यौँ जस्तै, मेचमा बस्दा, उभिँदा या अन्य कुनै कार्य गर्दा ढाड र गर्धनमा मांसपेशी लामो समयसम्म खुम्चिएर बस्दछ । जसले गर्दा हामीलाई गर्धन र ढाडमा पीडा महसुस हुन थाल्दछ । यदि यही क्रम सधैँ या धेरै दिनसम्म जारी रहेमा हामीलाई गर्धन र ढाड दुखाइको समस्या आइलाग्छ ।
वास्तवमा यो रोग होइन, मांसपेशी कमजोरीको एउटा समस्या हो । मांसपेशीका कारणले हुने ढाडको दुखाइ हाम्रो शरीरको चालसँग सम्बन्धित हुन्छ । चुप लगेर बसेमा यस्तो दुखाइ कम हुने र हलचल गर्दा ज्यादा दुख्ने हुन्छ । यस्तो दुखाइ औषधिको सेवन र नियमित व्यायामले ठीक हुन्छ र यसले प्रायः ठूलो समस्या ल्याउँदैन ।
त्यस्तै ढाड दुखाइको अर्को कारण हो मेरुदण्डको मूल नसा या हाँगा नसाको समस्या । मेरुदण्डमा मूल नसा बस्ने बीचको ठूलो प्वाल र साना हाँगा नसाहरू निस्किने छेउका साना प्वाल हुन्छन् । उमेरसँगै शरीर, हड्डी, नसा खिइँदै जाने क्रममा मूल नसा बस्ने प्वालहरू पनि क्रमशः साँघुरा हुँदै जान्छन् अनि नसा च्यापिँदै जान्छ ।
त्यस्तै नसा च्यापिने अर्को प्रमुख कारण हो डिस्क । जुन दुई भर्टिब्राको बीचमा रहेको हुन्छ । त्यसले एउटा वासरका रूपमा काम गर्दछ । कुनै कारणले अथवा निहुँरिदा, कुनै सामान उचाल्दा, बस्दा वा उठ्दा ढाड सड्किएर डिस्क आफ्नो ठाउँबाट फुस्कन्छ र अनि नसा बस्ने प्वालमा अड्किँदा समस्या पर्दछ । त्यसले गर्दा नसाको प्वाल सामान्य भए पनि डिस्कले नसा च्यापिन्छ र नसाको समस्या आउँछ ।
त्यस्तै नसा च्यापिने अर्को कारण हो चोट । ढाडको चोट लागेमा जस्तै, लडेर, दुर्घटना परेर, ढाड मर्केर आदिले पनि नसा च्यापिने सम्भावना रहन्छ । अर्को अलि कम मात्रामा देखिने कारण चाहिँ नसाको मासु पलाएर ९क्उष्लब ित्गmयच० हो । कुनै कारणले नसामा ट्युमर पलाएमा त्यसले अरू नजिकका नसा च्याप्ने सम्भावना पनि हुन्छ ।

स्लिप्ड डिस्क 
ढाडको नसा च्यापिने एक प्रमुख कारण स्लिप्ड डिस्क हो, जुन माथि उल्लेख गरिएझैँ डिस्क आफ्नो ठाउँबाट फुत्किने कारणले गर्दा हुन्छ । ढाडको नसा च्यापिने कारणमा झन्डै प्रतिशतमा स्लप्ड डिस्कको भूमिका हुन्छ । यसलाई मेडिकल भाषामा साइटिका भनिन्छ । यस्तो स्लिप्ड डिस्कको समस्या गर्धनदेखि कम्मरसम्म कहीँ पनि हुनसक्छ र सबैभन्दा बढी समस्या हुने ठाउँ मेरुदण्डमा हो । नसा रोग विशेषज्ञ (न्युरो सर्जन /न्युरोलोजिस्ट)हरूको दैनिक काममा यस्तो समस्या लिएर बिरामी धेरै आउँछन् ।
यदि नसा च्यापिएको समस्या भएमा त्यसले सुरुसुरुमा ढाड दुख्ने, त्यसपछि विस्तारै कम्मरदेखि मुनि हिपमा तथा त्यसपछि तिघ्रा र पिँडौलाको पछाडिको भागमा क्रमैसँग दुख्दै जाने हुन्छ । यस्तो दुखाइ विशेषगरी हिँड्दै जाँदा विस्तारै बढ्दै जाने हुन्छ । कसैलाई दुई÷चार मिनेटमै दुख्ने, कसैलाई आधा वा एक घण्टामा दुख्ने हुन्छ । त्यस्तै दिसा, पिसाब गर्न बस्दा वा उठ्दा बढी दुख्ने, निहँुरिँदा बढी दुख्ने पनि हुनसक्छ ।
समस्या बढ्दै गएमा उत्तानो परेर सुत्दा पनि दुख्छ । त्यस्तै एक पाखाको खुट्टा निदाउने, झमझम हुने, खुट्टा लुलो हुने, औँलाहरू लुलो भई चप्पल च्याप्न नसक्ने आदि कुरा पनि समस्या बढ्दै जाँदा देखिने लक्षण हुन् । समस्या अझै बढ्दै गएमा दिसा, पिसाब गर्न गाह्रो हुने, पिसाब अड्किने पनि हुन्छ । दिसा, पिसाबको समस्या आउनुलाई समस्याको चरमबिन्दु मानिन्छ ।
एक पटक यस्ती महिला बिरामी उपचारका लागि आइन्, जसको ढाडको नसा च्यापिएर उनलाई दिसा, पिसाब गर्न गाह्रो हुने तथा दिसा, पिसाब गर्दा ज्यादै कन्नु पर्ने या बल गर्नुपर्ने भएर अन्त्यमा मलद्वारबाट आन्द्रा झर्ने तथा पाठेघरको एक भाग झर्ने समेत भएको थियो । तुरुन्तै पाइप (क्याथेटर) लगाएर पिसाबको समस्या तत्कालका लागि समाधान गरियो । त्यसपछि कम्मरको तत्कालै अपरेसन गरेपछि समस्या विस्तारै हट्दै गएको थियो ।
मेरुदण्डको हड्डीको समस्याले पनि ढाड दुख्छ । मेरुदण्डको हड्डी निकै बलियो हुन्छ र यसले शरीरको आसनअनुसार शरीरको भार थाम्ने काम गर्दछ, यसले गर्दा नै शरीर लचकदार हुन्छ तर कहिलेकाहीँ मेरुदण्डको हड्डीको पनि समस्या आउने गर्दछ । मेरुदण्डको हड्डीको समस्यामध्ये सङ्क्रमण एक हो । क्षयरोग अर्थात् टीबीले गर्दा हुने मेरुदण्डमा सङ्क्रमण अन्य खालका सङ्क्रमणभन्दा धेरै देखिन्छ । यसले गर्दा ढाड दुख्ने मात्रै होइन ज्वरो आउने र सम्पूर्ण शरीर शिथिल पर्दछ । त्यतै ढाडमा विस्तारै हिर्कायो भने असह्य पीडा पनि हुन्छ । यस्तो सङ्क्रमणले हड्डीभित्र रहेको नसालाई असर ग-यो भने खुट्टामा नसाको समस्या भएको लक्षण पनि देखिन्छ ।
त्यस्तै मेरुदण्डको हड्डीमा देखिने अन्य समस्या भनेको मेरुदण्डको चोट, मेरुदण्डको हड्डीमा पलाएको ट्युमर या क्यान्सर आदि पनि हुन् । तसर्थ मेरुदण्डको समस्या हेरी औषधि या शल्यक्रिया विधिद्वारा उपचार गर्न सकिन्छ । यदि टीबीको सङ्क्रमण हो भने एकदेखि डेढ वर्ष औषधि खानुपर्ने हुन्छ, कसैकसैमा शल्यक्रियाको आवश्यकता पनि पर्दछ । मेरुदण्डको ट्युमर या क्यान्सर हो भने त्यसैअनुरूप उपचार गर्नुपर्ने हुन्छ ।

जाँच पड्ताल
ढाडमा नसा च्यापिएका बिरामीलाई सबैभन्दा पहिला गर्ने जाँच भनेको एक्स–रे हो । एक्स–रे ले ढाडको हड्डी राम्ररी देखाउँछ तर नसा भने देखाउँदैन । एक्स–रे हेरेर नसा च्यापिएको अनुमान लगाउन सकिन्छ तर यकिन भन्न सकिँदैन । नसा च्यापिएको निश्चित गर्न अर्को जाँच गर्नुपर्दछ, एमआरआई । यसले नसाको रेसा रेसा देखाउँछ र यसले नसा च्यापिनुको वास्तविक कारण पनि देखाउँछ ।
एमआरआईमा जे देखिन्छ, उपचार त्यसैमा भर पर्दछ । त्यस्तै सिटी स्क्यान पनि अर्को जाँच हो । त्यसले पनि विशेषतः नसाभन्दा हड्डी ज्यादा देखाउने हुनाले नसाको समस्या भएको बिरामीमा त्यसको खासै ठूलो महìव हुँदैन ।

उपचार
ढाडको समस्याको उपचार सरल र सुरक्षित हुन्छ तर जनमानसमा ढाडको समस्या भएमा बढी आत्तिने र चिन्ता गर्ने मनोविज्ञान बढी देखिन्छ । त्यसमा पनि अपरेसन गर्न‘पर्ने भएमा बिरामीहरू बरु रोग पालेर बस्ने गर्दछन्, अपरेसन गराउँदैनन् । त्यसको प्रमुख कारण समस्याको सही ज्ञान नहुनु नै हो । त्यसमाथि हाम्रो समाजमा यस्तो समस्या र यसको उपचार, अपरेसनका बारेमा निकै नै गलत विचार वा भ्रम विद्यमान रहेको पाइन्छ ।
ढाडको नसा च्यापिएको समस्याको उपचार एक साधारण सल्लाहबाट सुरु हुन्छ । औषधिको सेवन गरिहाल्नु पनि जरुरी छैन । उदाहरणका लागि लामो समयसम्म कुर्सीमा नबस्ने, निहुरेर धेरै काम नगर्ने, निहुरिएर भारी सामान जबरजस्ती नउचाल्ने आदि सावधानी अपनाएमा मात्रै पनि यस्ता समस्याबाट छुट्कारा पाइन्छ । उल्लेखित क्रियाकलापले प्रत्यक्ष रूपमा ढाडलाई असर पार्दछ । त्यस्तै सुत्ने बेलामा उत्तानो परेर सुत्ने, ज्यादै मोटो वा लचकदार डस्नामा नसुत्ने र ढाडलाई धेरै कुप्रो बनाएर नबस्ने वा नसुत्ने आदि पनि राम्रा उपाय हुन् ।
योग र सामान्य कसरत गर्नाले फाइदा पक्कै हुन्छ तर योगका कतिपय आसन ढाडका लागि उपयुक्त नहुन पनि सक्छन् ।
उल्लेखित उपायले राम्रो नभएमा औषधि सेवन गर्नु राम्रो हुन्छ । औषधिमा सामान्यदेखि कडा औषधि उपलब्ध छन् । नसारोग विशेषज्ञको सल्लाहअनुसार जुन औषधिको प्रयोग गरेमा राम्रो हुने हो त्यहीअनुसार गर्नु पर्दछ । त्यस्तै व्यायाम अथवा फिजियोथेरापी पनि यस्तो समस्याको एक उपयुक्त उपचार विधि मानिन्छ । नसारोग विशेषज्ञ अथवा फिजियोथेरापिस्टको सहयोगले सही फिजियोथेरापी सिक्न सकिन्छ ।

ढाडको नसा च्यापिएको शल्यक्रिया
ढाडको नसा च्यापिएको समस्याको शल्यक्रिया एक सरल र अति प्रभावकारी उपचार विधि हो । सही समयमा सही शल्यक्रिया सही डाक्टरले गरेमा झन्डै ९५–९८ प्रतिशत बिरामीमा यो उपचार सफल हुन्छ । शत्प्रतिशत ग्यारेन्टी संसारमा कुनै पनि डाक्टरले दिन सक्दैन तर गलत समय या गलत डाक्टर वा अनुभव कम भएको डाक्टरले यस्तो उपचार गरेमा नतिजा उल्टो पनि हुनसक्छ ।
अहिले हाम्रो समाजमा यस खालको अपरेसनका बारेमा निकै गलत विचार व्याप्त छ, यस्तो शल्यक्रिया गरेमा खुट्टा चल्दैन रे, अपाङ्ग भइन्छ रे आदि । यस लेखकको अनुभवमा हजारौँ बिरामीको शल्यक्रिया गरिएकोमा जटिल समस्यामा परेका बिरामी हालसम्म एक जना पनि छैनन् । नेपालका अधिकांश अनुभवी तथा योग्य नसारोग विशेषज्ञको हातबाट अपरेसनकै कारणले नराम्रा समस्या भएको घटना निकै न्यून छ, छिटफुट घटना पक्कै छन् ।
प्रायः अपरेसन सफल नहुनुमा अपरेसनको समय गलत हुनु अथवा अपरेसन ढिला गर्नु पनि एउटा कारण हो । अपरेसन भनेको लगन हेरेर गाँठो बाँध्नु जस्तै सही समयमा गर्नुपर्दछ । रोग छिप्पिँदै गयो भने त्यसले नसा र वरिपरिका अरू तन्तुलाई झन् झन् खराब पार्दै लान्छ । फलस्वरूप अपरेसन झनै कठिन र खतरापूर्ण हुनसक्छ ।
त्यही अपरेसन रोग छिपिनुभन्दा अघि नै गरियो भने एक सामान्य अपरेसन हुन्छ र रोग निर्मूल हुन्छ । त्यसैले चाहिनेभन्दा बढी पीडा सहेर, औषधि खाएर वा फिजियोथेरापी मात्र गरेमा त्यसले पैसाको खर्च पनि हुन्छ, रोग पनि बढ्छ, शरीरलाई गाह्रो पनि हुन्छ, समय नास पनि हुन्छ र अन्त्यमा अपरेसनले पनि राम्रो काम नगर्न सक्छ । त्यसैले निर्णय तपाईंको हो, तपाईं अपरेसन गरेर तुरुन्तै आराम पाउन चाहनुहुन्छ वा अनावश्यक दुःख पाउन चाहनुहुन्छ ।
त्यस्तै केही बिरामीलाई घाउमा सङ्क्रमण हुने, केही महिना ढाड दुख्ने, राम्ररी हिँडडुल गर्न गाह्रो हुन सक्ने समस्या हुनसक्छ । त्यस्तो भएमा सामान्य उपचार र आरामले राम्रो हुन्छ । त्यस्तै निकै कमलाई मात्र अपरेसन गर्दा साँच्चिकै नसामा चोट लाग्ने र खुट्टा लुलो हुने सम्भावना रहन्छ ।
त्यस्तो डाक्टरलाई रोज्नुहोस् जोसँग यस्तो अपरेसनको अनुभव धेरै छ, त्यस्तो अस्पतालमा जानुहोस् जहाँ सङ्क्रमणको सम्भावना कम छ, सर–सफाइ राम्रो छ र तपाईंको बजेटले पनि धान्दछ । 

( युवामञ्चकाे असाेज अङ्कमा प्रकाशित यस लेखका  लेखक काठमाडौँ न्युरो एन्ड जनरल अस्पतालका स्नायु शल्यचिकित्सकका रूपमा कार्यरत हुनुहुन्छ)