खोप अभियानमा नेपाल सफल
गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक ६ गते । दक्षिण एसियाली (सार्क) मुलुकहरूमध्ये नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान उच्च सुधारको बाटोमा अग्रसर देखिएको छ । सङ्क्रमणको जोखिम र मृत्य दरको खतरा भने टरी नसकेको विभिन्न तथ्यले पुष्टि गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरमा हालसम्म ४९ लाख १९ हजार ७५५ जनाको कोभिडका कारण मृत्यु भएको छ । कोभिड महामारी सुरु भएयता २४ करोड १८ लाख ८६ हजार ६३५ जना सङ्क्रमित भएका छन् ।
सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टरले बिहीबारसम्म अद्यावधिक गरेको तथ्याङ्कअनुसार सार्क क्षेत्रले विश्वकै २१ प्रतिशत जनसङ्ख्या ओगट्छ । हालसम्म यस क्षेत्रमा तीन करोड ८५ लाख ५४ हजार ३८४ मानिस सङ्क्रमणमा परेका छन् । जसमध्ये पाँच लाख ४१ हजार ३१९ जनाको कोभिडले ज्यान लिएको छ । कोभिड नियन्त्रण र यस क्षेत्रका जनताको जीवन रक्षाका लागि सार्क मुलुकहरूले एकल र सामूहिक दुवैथरी प्रयास जारी राखेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले खोप अभियानको विश्लेषण गर्दा नेपाल अन्य सार्क मुलुकलाई पछि पार्दै अगाडि बढेको दाबी गर्नुभयो । खोप अभियानको मामिलामा नेपाल गत असार महिनासम्म निकै पछाडि थियो । विगत तीन महिनायता सार्क मुलुकका चार मुलुकलाई पछि पार्दै खोप अभियानमा अगाडि पुगेको छ । डा. अधिकारीले अहिले नेपाल भुटान, भारतसहित तीन मुलुकपछि खोप अभियान राम्रो रहेको मुलुकका रूपमा गनिएको जानकारी दिनुभयो ।
उहाँले आगामी पुससम्ममा यी अगाडि रहेका मुलुकको भन्दा नेपालले खोप अभियानमा अग्र सफलता हासिल गर्ने दाबी गर्नुभयो । उहाँका अनुसार अब अमेरिकाबाट खरिद गरेको फाइजर खोपको ६० लाख मात्रा सोमबार आइपुग्दै छ । त्यस्तै मोडेर्ना खोपको ४० लाख मात्रा पनि छिट्टै नेपाल भित्रँदै छ । त्यसैगरी चीन सरकारले अनुदानमा दिने २० लाख मात्रा र चीनकै तर्फबाट नेपाली सेनाका लागि आउने थप अनुदानको खोप पनि आउँदैछ । भारतबाट पनि खरिद गरेको १० लाख मात्रा खोप आउने तयारीमा रहेकाले नेपालमा अब खोपको सङ्कट नरहने विश्लेषण सरकारी अधिकारीको छ ।
विज्ञ चिकित्सक डा. समीरमणी दिक्षितले हिउँद सुरु हुनु अगावै खोप अभियानलाई तीव्रता दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार सार्क मुलुकमध्ये जनसङ्ख्याको हिसाबले भारतमा बढी खोप लगाइएको देखिए पनि समग्र प्रतिशतको हिसाबले भारतमा २१ प्रतिशतले मात्र खोप लगाएका छन् । नेपालमा जनसङ्ख्याका हिसाबले करिब ३२ प्रतिशतमाथिले खोप लगाइसकेका छन् । उहाँले भन्नुभयो, “तर जबसम्म ५०–६० प्रतिशतलाई खोप लगाइसक्दैनौँ तबसम्म कोभिडको उच्च जोखिम रहिरहन्छ । ” नेपालले आगामी पुस १५ गतेभित्र कम्तीमा पनि ५० प्रतिशतलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ ।
जनसङ्ख्याको आधारमा भारतमा मृत्यु दर उच्च देखिएको छ । भारतमा चार लाख ५३ हजार ४२ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । पाकिस्तानमा २८ हजार ३४४ जनाको ज्यान गुमेको छ । त्यस्तै बङ्गलादेशमा २७ हजार ५५५, श्रीलङ्कामा १३ हजार ५६२, नेपालमा ११ हजार ३३७, अफगानिस्तानमा सात हजार २४७, मालदिभ्समा २४० र भुटानमा तीन जनाले ज्यान गुमाएका छन् । पछिल्लो समय अफगानिस्तामा सङ्क्रमणको दर ह्वात्तै बढेको छ । त्यहाँ १३.७ प्रतिशत सक्रिय सङ्क्रमित छन् । त्यसपछि श्रीलङ्कामा ४.९ प्रतिशत, पाकिस्तानमा १.९ प्रतिशत, मालदिभ्समा १.५ प्रतिशत, नेपालमा १.४ प्रतिशत, बङ्गलादेशमा ०.८ प्रतिशत, भारतमा ०.५ प्रतिशत, भुटानमा ०.३ प्रतिशत सङ्क्रमणको दर रहेको छ । नेपालको मृत्युदर १.४ प्रतिशत छ भने सबैभन्दा बढी अफगानिस्तानमा ४.७ र श्रीलङ्कामा २.५ प्रतिशत छ ।