उपचार खर्च तिर्न नसक्दा मुसहर युवक अस्पतालमा बन्धक
जनार्जन खत्री
सर्लाही, कात्तिक १७ गते । सर्लाहीको चन्द्रनगरका पाँच जना मुसहर युवक उपचार खर्च तिर्न नसक्दा चार दिनसम्म अस्पतालमै बन्धक भएर बस्नुपरेको छ । केही दिनअघि भारतको उत्तरप्रदेशस्थित आलु भण्डारण गर्ने चिस्यान केन्द्रमा काम गर्ने तीन जना मजदुरको शङ्कास्पद मृत्यु भएको थियो । त्यसपछि गाउँ फर्किएर आएका पाँच जना युवकहरु पनि बिरामी परेपछि ईश्वरपुर नगरपालिका– ७, स्थित गोदावरी अस्पताल बयलवासमा भर्ना भएका थिए ।
अस्पतालमा भर्ना भएका चन्द्रनगर गाउँपालिका– ६, कामदका ती युवकहरु उपचारमा लागेको खर्च तिर्न नसक्दा डाक्टरले डिस्र्चाज गरेको चार दिनसम्म पनि अस्पतालमै बन्धक भएर बस्नु भएको हो । कात्तिक १० गते भर्ना हुनुभएका युवकहरु वुधवार केही रकम तिरेपछि बाँकी रकम पछि तिर्नेगरी डिस्चार्ज गरिएको अस्पताले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बाँकी रकम केही दिनपछि भुक्तानि दिलाउने गरी बिरामीलाई अस्पतालबाट डिस्चार्ज गराइएको बताउनुभयो । बिरामीहरु बन्धक भएर बस्नुपरेकोसम्वन्धी जानकारी प्रहरीलाई पनि ढिलोगरी आएको बताउनुभयो ।
अस्पतालकाअनुसार, पाँच जना युवकको आठ दिनसम्म अस्पतालमा राखेर उपचार गर्दा करिव डेढ लाख रुपियाँको बिल उठेको छ । अस्पतालका डाक्टर उमाशङ्कर गुप्ताले पाँचै जना बिरामी सुरुमा डेङ्गी लागेको भनेर उपचार गर्न आएको बताए पनि, उपचार गर्दै जाँदा अत्यधिक विषाक्त मदिरा सेवनबाट बिरामी परेको पाइएको बताउनुभयो ।
बिरामीहरु सुरुमा डेङ्गी लागेको भनेर उपचार गर्न आए पनि त्यो पुष्टी नभएको डा. गुप्ताले बताउनुभयो । उहाँकाअनुसार बिरामीमा सुरुमा पेट दुख्ने, टाउको दुख्ने, बान्ता हुने समस्या देखिए पनि अहिले सबैको अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।
भारतबाट मजदुरी गरेर फर्किएका युवकहरुले आफूहरुलाई मदिरा र औषधि सेवन गरेर दैनिक १८–२० घण्टासम्म काममा लगाएकाले बिरामी परेको गुनासो गरेका छन् । अस्पतालबाट वुधवार दिउँसो डिस्चार्ज हुनुभएका अजय माझीले आफूहरुलाई मदिरा र औषधिको नसामा अत्यधिक काममा पेलाइएको बताउनुभयो ।
माझीसँगै मजदुरी गर्ने कामदका दुई जना र ईश्वरपुर भक्तिपुरका एक जनाको केही दिनअघि भारतमै मृत्यु भएको थियो । तीन जनाको शव ल्याएर अन्त्येष्टि गरिसकिएको छ ।