स्वास्थ्य | प्रदेश |

फाइजर खोप लगाएकालाई समस्या आएको छैन

सिराज खान
नेपालगञ्ज, कात्तिक २९ गते । बाँकेमा फाइजर खोप लगाएका कुनै पनि ब्यक्तिको स्वास्थ्यमा हालसम्म कुनै प्रकारको समस्या नआएको भेरी अस्पतालका चिकित्सकले बताउनुभएको छ ।

सरकारले बाँकेमा १२ वर्षभन्दा माथिका १ हजार ८०० जनालाई पुग्ने गरी फाइजर खोप पठाएपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा खोप लगाउने काम भैरहेको छ । भेरी अस्पतालमा आइतबारबाट सो खोप १२ वर्ष माथिका बालबालिका र दीर्घरोगीलाई लगाउन सुरु गरिएको जनाउँदै भेरी अस्पतालका निमित्त प्रमुख डा. संकेत रिसालले खोप लगाएका ब्यक्तिमा अहिलेसम्म स्वास्थ्य समस्या नदेखिएको बताउनुभयो ।

१२ वर्षभन्दा माथिका बालबालिकालाई पहिलो पटक खोप लगाउन थालिएपछि सो बारेमा धेरैमा विभिन्न प्रकारका आशंका देखिए पनि नेपालगञ्जमा कसैलाई कुनै समस्या नदेखिएको प्रष्ट पार्नुभयो ।

स्थानीय भेरी अस्पताल परिसरमा उक्त खोप बिहान १० बजेदेखी अपरान्ह ४ बजेसम्म लगाइँदैआएको निमित्त प्रमुख डा. रिसालले बताउनुभयो । ‘यो खोप १२ वर्षभन्दा माथिका पे्रसर, सुगर, क्यान्सर, दम, मिर्गौलाको डाइलासिश गरिरहेका बिरामीलाई दिइरहेका छौं,’ वरिष्ठ फिजिसियन समेत रहनुभएका रिसालले भन्नुभयो ‘यसले कुनै पनि स्वास्थ्य समस्या उत्पन्न गरेको छैन, पूर्णतः सुरक्षित छ ।’

फाइजर खोप लगाएको तीन हप्तापछि दोस्रो डोजको खोप लगाइने भेरी अस्पतालले जनाएको छ ।