स्वास्थ्य | प्रदेश | समाज |

आर्युवेद शाखा केन्द्रद्वारा निःशुल्क पञ्चकर्म सेवा सुरु


राजन रावत
हुम्ला मंसिर १ गते । पछिल्लो समय बिरामीको आकर्षण बढ्दै गएको आर्युवेद चिकित्सा विधि अन्र्तगतको पञ्चकर्म सेवा जिल्लामा निशुल्क गरिएको छ । बिरामीको चाप र मागलाई मध्यनजर राख्दै शाखाले सो सेवा निःशुल्क गरेको हो ।
सिमकोट गाउँपालिका–६ जौका रोकायाले यसअघि यो सेवा लिदा शुल्क तिर्नु परेको भए पनि अहिले आएर निःशुल्क रुपमा उपचार पाएको बताउनुभयो । उहाँले आर्युवेद शाखाको यो कार्यलाई न्यून आयश्रोत भएको सेवाग्राहीलाई निक्कै राहत पुगेको जनाउनुभयो । यसअघि सेवाग्राहीहरुले शाखासँग पञ्चकर्म सेवा निःशुल्क गर्न माग गर्दै आएका थिए ।
शाखाका निमित्त प्रमुख कविराज कृष्णचन्द्र जोशीले पहिले पञ्चकर्म सेवा लिएबापत सेवाग्राहीबाट एक सय रुपियाँ लिँदै आएकोमा तिहारपछि यसलाई निःशुल्क गरिएको बताउनुभयो । न्यून आयश्रोत भएका बिरामीको मागलाई सम्बोधन गर्दै उहाँले विना शुल्क उपचार गर्ने निधोमा शाखा पुगेको बताउनुभयो । शाखाले यसरी सेवालाई निःशुल्क गरेपछि सेवाग्राहीको संख्यामा पनि वृद्धि भएको जनाएको छ । उहाँले विद्युत नियमित नभएको कारण सेवा प्रदान गर्न महङ्गो पर्ने भए पनि निशुल्क गर्न थालिएको उल्ल्ेख गर्नुभयो । शाखामा पञ्चकर्म सेवा लिन दैनिक २५ जनासम्म आउने गरेका छन् । हालसम्म यो सेवा लिनेको संख्या एक हजार पाँच सयसम्म पुगेको शाखाले जनाएको छ । २०७७ साल मंसीर १४ गतेबाट जिल्लामा यो सेवा सुरु भएको थियो ।
शाखाले यो सेवा प्रदान गर्न छुट्टै कोठाको ब्यवस्था समेत गरेको छ । यसका लागि दुई जना जनशक्तिको शाखाले व्यवस्था गरेको छ । पुरुष सेवाग्राहीका लागि पुरुष अभ्याङ्गकर्ता र महिलाका लागि महिला अभ्याङ्गकर्ता जनशक्तिको व्यवस्था गरिएको छ । उहाँहरुल दुवै जनाले सेवा प्रदान गर्दै आएका छन् ।
यसरी शाखामा पञ्चकर्म सेवा लिन पुरुष भन्दा महिला सेवाग्राही बढी आउने गर्नु भएको छ । गत फागुन महिनापछि शाखाका एक जना चिकीत्सको समेत व्यस्था हुँदा आर्युवेद उपचारमा बिरामीको आर्कषण वृद्धि हुँदै आएको जनाइएको छ । आठ प्रकारका स्थानीय जडिबुटीबाट समेत औषधी जिल्लामा निर्माण गरेर उपचार गरिने भएको कारण पनि यो सेवामा आर्कषण हुने गरेको हो । यद्यपि शाखाले स्थानीय जडिबुटीको औषधी निर्माणमा बजेटको व्यवस्था भने ज्यादै न्यून हुने गरेको जनाएको छ ।