स्वास्थ्य |

कोलेरा (हैजा) भ्याक्सिन बालबालिकालाई खुवाएर सुरु गरिने


जानु पाण्डे
कपिलवस्तु, मंसिर १ गते । हैजा प्रभावित कपिलवस्तुका पाँच स्थानीय तहमा आएको ‘ओरल कोलेरा भ्याक्सिन ’ बालबालिकालाई खुवाएर सुरु गरिने भएको छ । मंसिर ५ गते यशोधरा गाउँपालिकाबाट सुरु हुने अभियानमा पहिलो दिन सबै विद्यालयका बालबालिकालाई खुवाएर सुरु गरिने स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । अन्य चार पालिकामा मंसिर ७ गते देखि भ्याक्सिन खुवाइने भएको छ । चेतनाको अभाव भएको क्षेत्र भएको हुँदा बालबालिकालाई भ्याक्सिन सेवन गराई समुदायमा उत्प्रेरणा जगाउने उद्देश्य रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताउनुभयो ।
जिल्लाका लागि २ लाख ५२ हजार ३ सय ६३ भाइल पहिलो डोज भ्याक्सिन लगाउन प्रत्यक्ष रुपमा ५१६ जना खटाउने तयारी भएको छ । ती मध्ये १६८ जना भ्याक्सीन खुवाउने कर्मचारी र ३४८ स्वयंसेवक रहेको पाण्डेले बताउनुभयो । झाडापखाला वा आँउ रोग लागेका र सिकिस्त विरामी परेको अवस्था बाहेक एक वर्षदेखि माथिका सबैलाई भ्याक्सिन खुवाइनेछ । एउटा पालिकामा छ दिनसम्म भ्याक्सिन खुवाइने अभियान संचालन हुने स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताउनुभयो ।
यता, भ्याक्सिन अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न ५३० महिला स्वास्थ्य स्वयंसेविका समेत खटिने भएका छन् । प्रभावित क्षेत्रका सबै शिक्षक, जनप्रतिनिधि, कर्मचारीसमेत परिचालन गरी ९० प्रतिशत भन्दा बढी जनतालाई भ्याक्सिन खुवाउने योजना अगाडि बढाइएको छ । पाँच पालिका भरी १६८ खोप केन्द्र तोकिएको छ । यशोधरा गाउँपालिकामा २५, महाराजगन्ज नगरपालिकामा ३५, कृष्णनगर नगरपालिकामा ४०, शिवराज नगरपालिकामा ४३ र विजयनगर गाउँपालिकामा २४ खोप केन्द्र तोकिएको छ । पहिलो दिन सबै विद्यालय र अन्य दिन पालो पालो सबै टोलमा पुगेर खोप दिइने भएको छ । अभियानको छ दिन सम्म स्वास्थ्य चौकीमा समेत भ्याक्सिन खुवाइनेछ ।