भीम अस्पताललाई चाइल्ड भेन्टिलेटर प्रदान
लक्ष्मण पौडेल
भैरहवा, मंसिर १ गते । प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले भैरहवास्थित भीम अस्पताललाई चाईल्ड भेन्टिलेटर हस्तान्तरण गरेको छ । प्रतिष्ठानले अस्पताललाई करिब २१ लाख मूल्य बराबरको एक थान चाइल्ड भेन्टिलेटर हस्तान्तरण गरेको हो ।
अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीलाई भेन्टिलेटर हस्तान्तरण गर्दै प्रतिष्ठानका उपाध्यक्ष तथा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराले भीम अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । अस्पताल विकासका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीले अस्पतालमा बच्चाको वार्ड स्थापना भए पनि बच्चाको लागि भेन्टिलेटर नभएको अवस्थामा प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले सहयोग गर्नु प्रशसंनीय रहेको बताउनुभयो । चाइल्ड भेन्टिलेटर बच्चाको ज्यान बचाउन उपयोगी उपकरण भएको उहाँले बताउनुभयो । अहिले सर्पदंशका बिरामीको पनि उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
यसअघि पनि प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्टे«टर लगायत स्वास्थ्य सामग्री प्रदान गरेको थियो । अध्यक्ष भण्डारीले अस्पताललाई आत्मनिर्भर र सक्षम बनाउन प्रतिष्ठानको सहयोग महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो । अस्पतालमा ५० बेड क्षमताको निर्णय भएपनि सो अनुसार जनशक्ति नभएको उहाँको भनाइ छ । “अस्पतालमा १२० बेड राखेका छौं, तर यहाँ २५ बेडको मात्रै जनशक्ति छ”–उहाँले भन्नुभयो ।
प्रतिष्ठानका निर्देशक धर्मबहादुर केसीले कोरोना महामारीको तेस्रो लहरबाट बालबालिकालाई हुन सक्ने जोखिमको न्यूनीकरण गर्न अस्पतालको मागअनुसार भेन्टिलेटर हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले प्रोजेक्ट होपको सहयोगमा लुम्बिनी प्रदेशमा रहेका १३ वटा सरकारी अस्पताल र सातवटै प्रदेशका स्वास्थ्य मन्त्रालयमा कोभिड–१९ विरुद्ध लड्न करिब ११ करोड मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताउनुभयो ।
अस्पतालका बालरोग विशेषज्ञ डा. आरिफ हुसेनले चाइल्ड भेन्टिलेटर बच्चाहरुको लागि निकै उपयोगी हुने बताउनुभयो । भेन्टिलेटरबाट बच्चाको तौलअनुसार अक्सिजन दिन सकिने उहाँले बताउनुभयो । अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीले स्वास्थ्य सेवामा समर्पित भएर प्रतिष्ठानले सहयोग गरेको बताउनुभयो ।
कार्यक्रममा प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले कोभिड–१९ महामारीविरुद्ध लड्न सहयोग गरेको भन्दै अस्पताल विकास समितिले प्रतिष्ठानलाई सम्मान प्रदान गरेको थियो । अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीले प्रतिष्ठानका उपाध्यक्ष एवं पूर्व स्वास्थ्यमन्त्री दीपक बोहरालाई सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।