यशोधरा गाँउपालिकाबाट हैजा विरुद्धको खोपको शुभारम्भ
नारद कोहार
तौलिहवा, मंसिर ५ गते । जिल्लामा हैजा विरुद्धको खोप यशोधरा गाँउपालिकाबाट शुभारम्भ गरिएको छ । पालिका अध्यक्ष गिरिजेशकुमार पाण्डेयलाई खुवाएर खोपको शुभारम्भ गरिएको हो । आज एक कार्यक्रममा आयोजना गरी सो अभियानको थालनि गरिएको छ ।
सो अभियानको शुभारम्भ लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले व्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो । भविष्यमा हुन सक्ने हैजाको प्रकोपलाई रोकथाम गर्न हैजाविरुद्धको खोप सञ्चालनमा ल्याइएको मन्त्री थारुले बताउनुभयो । उहाँले भन्नुभयो “एक वर्षभन्दा माथिका व्यक्तिहरुले अनिवार्यरुपमा हैजाविरुद्दको खोप खाएर हैजा रोकथाममा सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछु ।”
खोप खाए पनि सरसरफाईका पक्षहरु उत्तिकै जरुरी रहेका जिल्ला समन्वय सभापति नारायण खनालले बताउनुभयो । पूर्ण खुला दिसामुक्त क्षेत्र नै हैजा रोक्ने सर्बोत्तम उपाय भएकोले सोतर्फ सबै अग्रसर भएर लाग्नुपर्ने उहाँले बताउनुभयो ।
हैजालाई पूर्ण रुपमा नियन्त्रणका लागि पालिकाभित्र विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिदै आइरहेको यशोधरा गाउँपालिकाका अध्यक्ष पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभया “यो खोप अनिवार्य रुपमा सबै पालिकाबासीले खाएर सहयोग गरिदिनु हुन सबै पालिकाबासीसँग अपिल गर्दछु । ”
हाल झाडापखाला पूर्ण नियन्त्रणमा रहेको स्वास्थ्य कार्यालयको प्रमुख हेमराज पाण्डेयले बताउनुभयो । यो खोप दुई पटक खानुपर्ने हुन्छ जसले पाँच वर्षसम्म हैजा लाग्ने सम्भावनालाई न्युन गर्ने प्रमुख पाण्डेयले बताउनुभयो । कपिलबस्तुलाई ८६ हजार चारसय डोज हैजा बिरुद्धको खोप प्राप्त भएको छ । यशोधरा गाउँपालिकाका ३७ हजार ७ सय ८३ जनालाई खोप लागाइने छ ।
हैजा अभियान हाल पहिलो चरणमा मंसीर ५ देखि १२ गतेसम्म संचालन हुनेछ । जिल्लाका शिवराज, कृष्णनगर महाराजगञ्ज नगरपालिका र विजयनगर गाउँपालिकामा मंसीर ७ गतेदेखि हैजाबिरुद्धको खोप अभियान शुरुवात हुनेछ । असोज १८ गतेदेखि कपिलबस्तुको कृष्णनगर नगरपालिका ७, ८ र ९ बाट झडापखलाको प्रकोप शुरु भएको हो । सो लगत्तै बिजयनगर, यशोधरा, महाराजगंज, शिवराज नगरपालिकाका बिभिन्न गाउँहरुमा झाडापखालाको प्रकोप फैलिएको थियो । सो पालिकामा झाडापखाला प्रभावित भई हैजा पुष्टी भएको छ ।
कृष्णगनर नगरपालिकामा झाडा पखालाबाट ४ जना र शिवराज नगरपालिका र यशोधरा गाउँपालिकामा एक–एक जनाको मृत्यु भएको थियो । अस्पतालमा भने अहिलेसम्म कसैको ज्यान नगएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।