स्वास्थ्य | प्रदेश |

तेस्रो दिन पनि बाँके अस्पतालमा एक सङ्क्रमितको मृत्यु

सिराज खान
नेपालगञ्ज, मङ्सिर १२ गते । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका बाँके जिल्लाका सङ्क्रमितमध्ये लगातार तेस्रो दिन पनि एक जनाको मृत्यु भएको छ ।

यसअघि गत दुई दिन कोहलपुरका दुई जना सङ्क्रमित महिला–पुरुषको मृत्यु भएको थियो भने गएराती बाँके बैजनाथका ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेज ओलीकाअनुसार गत तीन दिनदेखि लगातार दैनिक एक जनाको दरले बाँकेका सङ्क्रमितको भेरी अस्पतालमा मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचारकाक्रममा बैजनाथ गाउँपालिका– १ बाँकेका ५५ वर्षीय पुरुषको गएराती मृत्यु भएको उहाँले बताउनुभयो । यही मङ्सिर ७ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यसको भोलीपल्ट ८ गते उहाँलाई थप उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार नआउँदा गएराती उहाँको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । यसअघि बिहीबार कोहलपुर ५ का ६५ वर्षीय पुरुष र शुक्रवार कोहलपुर नगरपालिका– ११ का ६४ वर्षीया महिलाको मृत्यु भएको थियो ।

गएराती भएको बाँके बैजनाथका सङ्क्रमितको मृत्युसँगै कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म बाँके जिल्लाको ३४४ जनाको मृत्यु भैसकेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।