दैलेखमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन
कमल शर्मा
दैलेख, मङ्सिर १७ गते । निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर यहाँ सञ्चालन गरिएको छ । स्वास्थ्य सेवा कार्यालयको समन्वय, एनएमबी बैंकको प्रायोजन तथा नारायण नगरपालिकाको आयोजनामा सो शिविर सञ्चालन गरिएको हो ।
शिविरमा मुटु, पेट, कलेजो, सुगर, प्रेसर, किड्नी तथा पिसाब, दम,मृगी, मानसिक, यौन समस्या, आँखा, दाँत, नाक, कान, घाँटी, मुख स्वास्थ्य, प्रसूति सेवासम्बन्धी समस्या, छाला, प्लास्टिक सर्जरी, बालरोग, सम्बन्धी विशेषज्ञहरूद्वारा निःशुल्क परिक्षण साथै औषधी निःशुल्क वितरण गरिएको आयोजक नारायण नगरपालिकाले जानकारी दिएको छ ।
नारायण नगरपालिका स्वास्थ्य शाखा दैलेखका सहसंयोजक लालबहादुर खड्काले जिल्लामा पहिलो पटक धेरै बिशेषज्ञ चिकित्सक बोलाएर एकै स्थानबाट सेवा दिएको बताउनुभयो । उहाँले शिविरमा पाँच हजारभन्दा बढी नागरिकले निःशुल्क विशेषज्ञ सेवा लिनुभएको बताउनुभयो ।
शुक्रवारबाट सञ्चालन भएको दुईदिने शिविरको उद्घाटन प्रतिनिधिसभा सांसद रवीन्द्र शर्माले गर्नुभएको थियो । सांसद शर्माले जनतालाई निःशुल्क स्वास्थ्य परिक्षण, औषधि वितरणजस्तो पुण्यकार्य गरेको भन्दै आयोजक संस्थालाई धन्यवाद दिनुभयो ।