चौतारा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन र पिसिआर परीक्षण शुरु
चित्र मिजार
सिन्धुपाल्चोक, मङ्सिर २४ गते । चौतारा अस्पतालमा अक्सिजन प्लान्टबाट अक्सिज उत्पादन शुरु भएको छ भने पिसिआर परीक्षण पनि शुरु गरिएको छ । चौतारा अस्पतालकी मेडिकल सुपरिटेन्डेट डा.करुण बज्राचार्यले अक्सिजन प्लान्टले प्रतिघण्टा ९० लिटरभन्दा बढी अक्सिजन उत्पादन भइरहेको जानकारी दिनुभयो ।
उत्पादित अक्सिजन पाइपलाइनबाट अस्पतालका कोभिड वार्ड, इर्मेरजेन्सी र अन्य वार्डमा पु¥याइएको डा. बज्राचार्यले बताउनुभयो । अस्पतालमा अक्सिजन उत्पादन हुन थालेपछि राजधानी र अन्यत्र पुगेर अक्सिजन ल्याउनुपर्ने समस्या टरेको उहाँले बताउनुभएको छ ।
उक्त अस्पतालमा प्रयोगशाला स्थापना गरेर पिसिआर परीक्षण गर्न थालिएको छ । पिसिआर मेशिन जडान गरेर पिसिआर परीक्षण गर्न थालिएपछि राजधानी र धुलिखेल अस्पतालमा लगेर परीक्षण जानुपर्ने बाध्यता हटेको छ । बागमती प्रादेशिक प्रयोगशाला धुलिखेलका निर्देशक नारायण कार्कीसहितको तीन सदस्यीय प्राविधिक टोलीले पिसिआर मेशिन जडान गरेर नमुना परीक्षण गरिएको थियो ।
परीक्षणमा १० व्यक्तिको पिसिआर परीक्षण गरिएको थियो । उक्त परीक्षण सफल भएको निर्देशक कार्कीले जानकारी दिनुभयो । पिसिआर परीक्षणका लागि पाँच जना स्वास्थ्यकर्मीको व्यवस्था गरी पिसिआर परीक्षण गर्न थालिएको छ ।