भेरी अस्पतालमा कैलालीका थप एक संक्रमितको मृत्यु
सिराज खान
नेपालगञ्ज, मङ्सिर २६ गते । कोरोना भाइरस संक्रमणबाट विरामी भएर गम्भीर अवस्थामा पुगेकाहरुको उपचार गरिरहेको यहाँस्थित भेरी अस्पतालमा कैलालीका थप एक संक्रमितको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१० कैलालीका ४२ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।
ती पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई कैलालीबाट ल्याएर शनिवार भेरी अस्पतालमा भर्ना गरिएको थियो । शनिवारनै पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएकोमा कोभिड वार्डमा भर्ना गरेर उपचार गर्दागर्दै आइतबार विहान ५ बजे मृत्यु भएको फोकल पर्सन ओलीले बताउनुभयो । योसँगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका ४३६ जनाको मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।