क्यान्सर अस्पतालमा सेवा थप हुँदा विरामीलाई भारत जानुपर्ने बाध्यता हट्यो
सिराज खान
नेपालगञ्ज, मङ्सिर २६ गते । पश्चिम नेपालको एकमात्र क्यान्सर अस्पतालको रुपमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले आफ्ना सेवा सुविधाहरु थप गर्दै गएपछि यस क्षेत्रका विरामीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
यसअघि कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका क्यान्सरका विरामीलाई उपचारका लागि चितवनको भरतपुर र भारतको नयाँ दिल्ली जानुपर्ने बाध्यता रहेकोमा अब सो बाध्यता अन्त्य भएको अस्पतालले जनाएको छ ।
क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. कृष्ण आर्चायले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न २२ जिल्लाका विरामीहरुलाई उपचार सेवा प्रदान गर्दै आएको सो अस्पतालले सेवा सुविधा थप्दै जाँदा उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्दै गएको बताउनुभयो ।
उहाँले सो अस्पतालमा एक वर्ष अघिसम्म सर्जरी र हिस्टोप्याथोलोजी सेवा समेत नरहेको जनाउँदै तर क्यान्सर भए नभएको यकिन गर्ने हिस्टोप्याथोलोजी सेवा तथा शल्यक्रिया सेवा शुरु गरेपछि विरामीलाई धेरै सहज भएको बताउनुभयो ।
हिस्टोप्याथोलोजी सेवा नहुँदा विरामी चितवन, काठमाडौं र भारतका विभिन्न शहरमा पुग्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै डा. आचार्यले सो सेवासहित क्यान्सर अस्पताले शल्यक्रिया सेवा शुरु गरेपछि स्तन क्यान्सर, पाठेघरको क्यान्सर र फोक्सोको क्यान्सरका बिरामीहरु लाभान्वित भैरहेको बताउनुभयो । एक सय बेडको स्वीकृति पाएको उक्त अस्पतालले हाल ६० बेड सञ्चालन गर्दै आएको छ । सरकारी स्तरबाट सञ्चालित राजधानी बाहिर भरतपुरपछि यो क्यान्सर अस्पताल दोस्रो हो ।
राजधानीका तीन ठूला अस्पतालपछिको अत्याधुनिक सुविधा सम्पन्न अस्पताल भएका कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीहरुलाई भरतपुर क्यान्सर अस्पताल लगायत काठमाडौं र भारतको लखनउ जानुपर्ने बाध्यता अन्त्य भएको छ ।
यसैबीच, संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री भाबनी खापुङसहित स्वास्थ्य मन्त्रालयको उच्चस्तरीय टोलीले सो क्यान्सर अस्पतालको स्थलगत अनुगमन गरी अस्पतालका सेवा सुविधाहरु थप बढाइने प्रतिवद्धता जनाएको छ ।
अस्पतालको अनुगमनपछि आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री खापुङले सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई पश्चिम नेपालको सुविधा सम्पन्न क्यान्सर अस्पतालको रुपमा विकसित गर्न दक्ष जनशक्ति र अत्यावश्यक उपकरणहरु थप गरिने बताउनुभयो ।
राज्यमन्त्री खापुङले अस्पतालमा रेडियशन थेरापी गर्ने लिन्याक मेसिन छिट्टै जडान गरिने बताउनुभयो । कार्यक्रममा स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा. रमेश ढकाल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल, क्यान्सर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसी, क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. कृष्ण आर्चाय र पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले दक्ष जनशक्ति र उपकरण थप गर्नुपर्नेमा जोड दिनु भएको थियो ।