स्वास्थ्य | प्रदेश |

दैलेख अस्पतालमा सेवा विस्तार तर जनशक्ति अभाव

कमल शर्मा
दैलेख, मङ्सिर २९ गते । जिल्ला अस्पताल दैलेखले अस्पताल स्तरोन्नतिसँगै गुणस्तरीय सेवा दिन थाले पनि जनशक्तिको अभाव रहेको बताएको छ । कोरोना महामारीबीच सीमित स्रोत र साधनका भरमा पनि उत्कृष्ट व्यवस्थापन गर्दैआएको अस्पतालले दावी गरेको छ ।

दरबन्दीअनुसारको चिकित्सक नहुँदा सकस हुनेगरेको अस्पतालका चिकित्सकको भनाइ छ । कोरोना महामारीकै अवधिमा थुप्रै पूर्वाधार, उपकरण जुटाएको अस्पतालमा दरबन्दीअनुसारका मेडिकल अधिकृत, विशेषज्ञ तथा स्वास्थ्यकर्मी नभएको अस्पताल स्रोतको भनाइ छ । जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकसहित १३ जना डाक्टरको दरबन्दी भए पनि अहिले प्रदेश सरकारले खटाएको र छात्रवृतिमा अध्ययन गरेका आठ जना डाक्टर मात्र कार्यरत रहेको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

सम्भावित तेस्रो लहरको खतरा बढिरहेका बेला आइसियु र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक मेडिकल अधिकृतको अभाव भएको अस्पतालका निमित्त प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो । १३ जना स्थायी विशेषज्ञको दरबन्दी रहेको अस्पतालमा एक जना पनि विशेषज्ञ चिकित्सक नभएको उहाँले जानकारी दिनुभयो । डेन्टलको डाक्टरसहित नौ जना डाक्टर करारमा कार्यरत रहेको उहाँले बताउनुभयो ।

छात्रवृतिमा अध्ययन गरेका डाक्टरले अनिवार्य सम्बन्धित जिल्लामा चार वर्ष काम गर्नुपर्ने प्रावधान भए पनि अदालतको फैसलाले दुई वर्षमा झारेको र अस्पतालमा कार्यरत डा. जीवन ज्ञवाली र जगत थापाको करार अवधि सकिन लागेको बताउनुभयो । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट, एचडियु बेड, पिसिआर प्रयोगशाला, सामाजिक एकाइ, आफ्नै फार्मेसी, नयाँ भवन निर्माणजस्ता कार्यहरू सञ्चालन भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “अस्पतालमा अन्य कर्मचारीको समेत अभाव हुँदैछ, २५ जना कर्मचारी एकै पटक अनिवार्य अवकाश पाउन लाग्नुभएको छ । करारमा राखेका कर्मचारीलाई प्रदेश सरकारले तलब पठाएन कसरी अस्पताल चलाउने चिन्ता छ ।”

१५ शैय्याको अस्पताल स्वीकृत भए पनि ५० शैय्याको अस्पताल बराबर सेवा दिनुपरेको अस्पतालका चिकित्सकको भनाइ छ । यो वर्ष मात्र प्रदेश सरकारले ५० शैय्याको अनुमति प्रदान गरेको र त्यसै अनुसार १८ करोडको लागतमा अस्पतालको नयाँ भवन निर्माण हुन लागेको अस्पतालले जानकारी दिएको छ ।