कोभिड विरामी आउन छाडेपछि खाली भए आइसोलेसन बेड
बाबुराम देवकोटा
सिन्धुलीमाढी, मङसिर २९ गते । सिन्धुली जिल्लामा कोरोना सङक्रमणका बिरामीको उपचारका लागि विरामी आउन छाडेपछि वनाइएका आइसोलेसन बेड खाली भएका छन् । जिल्लाका नौ वटै स्थानीय तहमा गरी कुल ११७ वटा आईसोलेसन बेड पहिलो लहरको कोरोना सङक्रमणकाबेला बनाइएकोमा अहिले सबै बेड खाली भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्लामा गम्भिरखालको कोरोना सङक्रमित बिरामी नभएको र कर्मचारीको अभावमा पनि आईसोलेसन बेड खाली रहेको कार्यालय प्रमुख जितेन्द्र साहले जानकारी दिनुभयो । उहाँकाअनुसार अहिले जिल्लामा आठ जना कोरोना सङक्रमित बिरामी छन् । बिरामी होम आइसोलेसनमा बसेर उपचार गरिरहेका छन् । पछिल्लो पटक सोमबार चार जनाको स्वाब परीक्षण गरिएकोमा एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।
सदरमुकाम सिन्धुलीमाढीमा सिन्धुली अस्पतालले सञ्चालन गरेको ४७ बेडको आइसोलेसन कर्मचारीको अभावमा मङसिर १ गतेबाटै बन्द भएको सो कार्यालयले जनाएको छ । सिन्धुली अस्पतालका अध्यक्ष प्रलादकुमार पोख्रेलले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई तलब भत्ता तथा अस्पताल सञ्चालनका लागि आवश्यक खर्च धान्न नसक्दा अस्पताल बन्द गर्न बाध्य भएको बताउनुभयो । सो अस्पतालमा कार्यरत ४९ जना स्वास्थ्यकर्मीलगायतका कर्मचारीलाई बिदा गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालयकाअनुसार सदरमुकामबाहेक दुधौली नगरपालिकामा २० बेडको, तीन पाटन गाँउपालिकामा १० बेडको, फिक्कल गाँउपालिकामा १० बेडको, सुनकोसी गाँउपालिकामा पाँच बेडको, गोलन्जोर गाँउपालिकामा पाँच बेडको, घ्याङलेख गाँउपालिकामा पाँच बेडको, मरिण गाँउपालिकामा पाँच बेडको र हरिहरपुरगढी गाँउपालिकामा १० बेडको आइसोलेसन सञ्चालनमा आएको थियो ।
कार्यालयकाअनुसार सिन्धुलीमा कोरोना भाइरस सङक्रमणबाट गत बर्ष चैतदेखि हालसम्म ४५ जनाको मृत्युभएको छ । हालसम्म १४ जना महिला र ३१ जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये सबैभन्दा बढी कमलामाई नगरपालिकामा २० जना, दुधौली नगरपालिकामा आठ, तीनपाटन गाउँपालिकामा तीन, फिक्कल गाउँपालिकामा पाँच, गोलन्जोर गाउँपालिकामा दुई, मरिण गाउँपालिकामा पाँच र हरिहरपुरगढी गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ । जिल्लामा ३ हजार २६३ जना सङ्क्रमित भएकोमा हालसम्म तीन हजार २१० जना निको भएको कार्यालयले जनाएको छ ।