स्वास्थ्य |

खजुरा क्यान्सर अस्पतालमा पहिलो पटक ठूलो गलगाँडको शल्यक्रिया


सिराज खान
नेपालगञ्ज, पुस १ गते । पछिल्लो समयमा आएर बाँके जिल्लामा रहेका विभिन्न सरकारी र निजी अस्पतालहरुले स्वास्थ्य उपचारमा नयाँ फड्को मार्दै गएका छन् । जिल्लाका विभिन्न अस्पतालमा जटिलदेखि अतिजटिल किसिमका रोगका शल्यक्रिया र उपचार सफलतापूर्वक हुन थालेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहका अनुसार कोभिड १९ को महामारी शुरु भएयता जिल्लाका विभिन्न अस्पतालहरुले आफ्नो सेवालाई अपग्रेड गर्दै विभिन्न रोगको उपचार र शल्यक्रियामा उल्लेखनीय सफलता प्राप्त गरिरहेका छन् ।
सोही क्रमलाई अगाडी बढाउँदै बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पहिलो पटक जटिल किसिमको गलगाँडको सफल शल्यक्रिया गरिएको छ ।

बाँके खजुरा गाउँपालिका–२ गौघाटकी ३६ वर्षीया बालकुमारी खत्रीको थाइराईडका कारण गलगाँड रहेकाले सोको सफलतापूर्वक शल्यक्रिया गरिएको क्यान्सर अस्पतालका ईएनटी सर्जन डा. आनन्द कर्णले जानकारी दिनुभयो । खत्री विगत १० वर्षदेखि गलगाँडको समस्याबाट पीडित हुनुहुन्थ्यो । पछिल्ला दिनहरुमा सास लिन र निल्न कठिनाई हुँदै गएपछि उहाँलाई अस्पताल पुर्याइएको थियो ।

‘विस्तारै गलगाडको साइज बढ्दै गएपछि उहाँलाई निकै गाह्रो हुन थालेछ, ’ ईएनटी सर्जन कर्णले भन्नुभयो–‘खजुरा क्यान्सर अस्पतालमा यति ठूलो साइजको शल्यक्रिया पहिलो पटक ग¥यौं । विरामीको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।’ खत्रीको थाइराइड ग्रन्थीको आकार बढेर १०.८ सेन्टिमिटर पुगेको थियो । ईएनटी सर्जन कर्णको नेतृत्वमा अर्का ईएनटी सर्जन रवि स्वाँर, एनेस्थेसियोलोजिष्ट डा. कृष्ण आचार्यलगायतको टिमले शल्यक्रिया गरेको अस्पताललले जनाएको छ ।

यसखालका जटिल शल्यक्रियाका लागि राजधानी काठमाडौं वा भारतको लखनउ, दिल्ली जाने अवस्था रहेकोमा अब सोको अन्त्य भएको क्यान्सर अस्पतालका निर्देशक कृष्ण आचार्यले बताउनुभयो । खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पताललाई सबै प्रकारका स्वास्थ्य उपचारमा पनि विशिष्टीकृत गरिँदै जाने योजना अनुसार क्यान्सर बाहेकका उपचारमा पनि सेवा प्रवाह गरिँदै आएको जनाइएको छ ।