स्वास्थ्य | प्रदेश | समाज |

सञ्चालनमा नआएकाे गाउँघर क्लिनिकमा सुत्केरी हुँदा शिशुको मृत्यु

 

गोकर्ण दयाल
बैतडी, पुस ७ गते । सुत्केरी गराउन गाउँघर क्लिनिक लैजाँदा घाँस परालको थुप्रो भेटिएपछि गोठमा सुत्केरी हुन बाध्य महिलाले जन्माएको शिशुको मृत्यु भएको छ । गाउँघर क्लिनिकमा स्ट्रेचर, सिटामोल औषधि, गर्भवती महिलाको चेकजाँच, बच्चाको तौल लिने, परिवार नियोजनका अस्थायी साधन जस्ता सेवा उपलब्ध हुने भनिए पनि सिगास १, बेसरास्थित गाउँघर क्लिनिकमा घाँस र पराल मात्र भेटिएको छ ।
उक्त क्लिनिक सञ्चालनमा नआएका कारणले अनाहकमा एक शिशुको मृत्यु भएको हो ।
सुत्केरी व्यथा लागेको २४ घण्टासम्म अन्यत्र लग्नको लागि खोजिएको स्ट्रेचर नभेटिँदा जानकी भट्ट गोठमा सुत्केरी गराउन बाध्य हुनुभएको थियो ।
स्थानीय पाँच वटा टोल बेसरा, भौनी, अङडेगाडा, दाबलगायत गाउँका करिब दुईसय घर परिवारलाई लक्षित गरेर निर्माण भएको गाउँघर क्लिनिकमा औषधि आउन छोडेपछि स्थानीयले घाँस पराल राख्न थालेका हुन् ।
गाउँघर क्लिनिकमा सिटामोल नपाउँदा स्थानीयवासी हिँडेर छिमेकी पाटन नगरपालिका–८, खोड्पे जानुपर्ने वाध्यता रहेको स्थानीय नरेश भट्टले गुनासो गर्नुभयो ।
संघीयता आएपछि पनि गाउँपालिका पुग्न दुई दिन लाग्ने गरेको यहाँका स्थानीयको गुनासो छ । जिल्ला सदरमुकाम बरु एक दिनमै पुगिन्छ तर, आफ्नै पालिकामा गएर गुनासो गर्न पनि दुईदिन हिँड्नुपर्ने बाध्यता भएपछि कहाँ कोसँग गुनासो पोख्ने ? भन्ने कुरामा अन्यौल सिर्जना भएको स्थानीयले बताएका छन् ।
गाउँघर क्लिनिकका विषयमा सिगास गाउँपालिकाका स्वास्थ्य संयोजक धनश्याम बोहराले गाउँघर क्लिनिकका लागि स्ट्रेचरलगायत औषधि पठाएको दाबी गर्नुहुन्छ ।
“गाउँपालिकाबाट स्ट्रेचर, कुर्सिलगायतका सामग्री पठाएका छौँ,” स्वास्थ्य संयोजक बोहराले भन्नुभयो “ के भएको रहेछ ? गाउँघर क्लिनिक व्यवस्थापन समिति र वडा अध्यक्षसँग बुझेर समस्या समाधान गर्ने छौँ ।”
गाउँघर क्लिनिकका विषयमा सिगास गाउँपाकिला–१, का वडा अध्यक्ष गगनसिंह धामीले क्लिनिकमा घाँस पराल राखेको आफूले पनि देखेको बताउनुभयो ।
वडा अध्यक्ष धामीले भन्नुभयो,“ गाउँघर क्लिनिकमा पराल राखेका छन् । वडामा रहेको स्वास्थ्य संस्थाले अनुगमन गरेर झ्याल ढोका लगाउने र स्ट्रेचरको व्यवस्था गर्न लगाउँछु । ”