स्वास्थ्य | खुला | प्रदेश |

तनहुँमा ३८ हजार बढी बालबालिकालाई विद्यालयमै खोप

अमरराज नहर्की
तनहुँ, पुस ७ गते । तनहुँमा १२ वर्षदेखि माथिका ३८ हजारभन्दा बढी बालबालिकालाई विद्यालयमा कोरोनाविरुद्धको मोडर्ना खोप दिइएको छ । विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्ने निर्देशन गरेसँगै बुधबार भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा बुधबार, बाँकी पालिकामा बिहीबार र शुक्रबार खोप लगाउने स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

१२ देखि १७ वर्ष उमेर समूहका गरी ३७ हजार २५ र अन्य एक हजार ३ सय ३९ गरी ३८ हजार ३७४ बालबालिकालाई खोप दिईने उहाँले जानकारी दिनुभयो । अधिकारीकाअनुसार दशवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने अभियानअनुसार बुधबार दुई पालिकाले खोप लगाएका छन् ।

बालबालिकाको खोप अभियानको निम्ति सबै स्थानीय तहका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण प्रदान गरिसकिएको छ । व्यास नगरपालिकामा १० हजार २४३ विद्यार्थी र अन्य ५०० गरी १० हजार ७४३ जनालाई खोप लगाइने भएको छ । भानु नगरपालिकामा चार हजार ७१३ विद्यार्थी र अन्य ३१० गरी ५ हजार २३ जनाले खोप लगाउने कार्य शुरु गरिएको छ ।

त्यस्तै, शुक्लागण्डकी नगरपालिकामा ७ हजार २०० विद्यार्थी, अन्य ३०० गरी ७ हजार ५०० बालबालिकालाई खोप लगाइने भएको छ । यस्तै भिमाद नगरपालिकामा तीन हजार १५ विद्यार्थीलाई खोप लगाइने भएको छ । म्याग्दे गाउँपालिकामा १ हजार ५०६ विद्यार्थीलाई, घिरिङ गाउँपालिका एक हजार ५७० विद्यार्थी र अन्य ४५ गरी एक हजार ६१५, ऋषिङ गाउँपालिकामा विद्यार्थी दुई हजार २०६ र अन्य ९४ गरी दुई हजार तीन सय जनालाई लगाइने बताइएको छ ।

त्यस्तै देवघाट गाउँपालिकामा एक हजार ५५४ विद्यार्थीलाई, बन्दीपुर गाउँपालिकामा एक हजार ९५७ बालबालिका र आँबुखैरेनी गाउँपालिकामा विद्यार्थी तीन हजार ६१ र अन्य १०० गरी ३ हजार १६१ जनालाई खोप लगाइने भएको छ ।

सरकारले ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकाका लागि पुस ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्रा र माघ २ गतेदेखि १२ गतेसम्म दोस्रो मात्रा मोडना खोप अभियान सञ्चालन गरेको छ ।

खोपहरू पूर्णरूपमा सुरक्षित रहेकाले निर्धक्क भई बालबालिकालाई खोप लगाउन प्रेरित गर्न सरकारले आग्रह गरेको छ । मोडर्ना खोपको पहिलो मात्रा लगाए पछि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ ।