स्वास्थ्य | प्रदेश |

कतार च्यारिटीद्वारा लुम्बिनी प्रदेशलाई स्वास्थ्य सामग्री प्रदान

सिराज खान
नेपालगञ्ज, पुस ९ गते । कतार च्यारिटीले लुम्बिनी प्रदेश सरकारलाई अपरेसन थिएटर सेटअप, ३ थान आईसीयू सेट र १ पीसिआर ल्याबसहित एक करोड दश लाख रुपियाँ बरावरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

च्यारिटीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको उपस्थितिमा नेपालका लागि कतारका राजदूत युसुफ मोहम्मद अल हैलले प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारुलाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले बताउनुभयो ।

कोरोना नियन्त्रणलगायत अन्य विभिन्न स्वास्थ्य समस्याको समाधानका लागि कतार च्यारिटीले सो स्वास्थ्य सामग्री हस्तान्तरण गरेको प्रेस संयोजक विश्वकर्माले बताउनुभयो ।

विककाअनुसार स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री वसिउद्दीन खान, कतार च्यारिटी दोहाका अन्तर्राष्ट्रिय कोष विशेषज्ञ मोहम्मद तैमूर साकिब, स्वास्थ्य मन्त्रालयका तर्फबाट सचिव डा. विकास तथा डा. पुष्पराज पौडेल, कतार च्यारिटी नेपालका प्रतिनिधि इरशाद अली शेख र लुम्बिनी एकीकृत विकास संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

कतार च्यारिटीले नेपालका विभिन्न जिल्लामा विपन्न तथा गरिब वर्गको उत्थानका लागि विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गर्दैआएको छ ।