पच्चिस हजार बिद्यार्थीलाई कोरोनाबिरुद्धको खोप लगाइँदै
डिलबहादुर सिंह
सिलगढी, पुस १८ गते । डोटीमा नौं वटै स्थानीय तहका २५ हजार बालबालिका लाई कोरोनाबिरुद्धको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका खोप सम्पर्क ब्यक्ति डिल्लीरमण जोशीकाअनुसार जिल्लाभरका बिभिन्न बिद्यालयका ३३ हजार बिद्यार्थीको तथ्याङ्क जिल्ला स्वास्थ्य कार्यालय डोटीमा प्राप्त भएको बताउनुभयो ।
पहिलो चरणमा पच्चिस हजार बिद्यार्थीलाई कोरोनाबिरुद्धको खोप लगाइने जोशीले बताउनुभयो । सम्पर्क ब्यक्ति जोशीले भन्नुभयो, ‘पहिलो चरणमा छुटेका बिद्यार्थी लाई दोस्रो चरणमा खोप लगाइने छ । शनिवारसम्म १० हजार डोज खोप जिल्ला स्वास्थ्य कार्यालय डोटीमा उपलब्ध भइसकेको छ ।’
बिद्यालयमा गएर स्कुले बालबालिका लाई कोरोनाविरुद्धको खोप लगाइने भएको हो । जिल्लाका नौ वटै स्थानीय तहका ११ वर्ष माथिदेखि १८ वर्ष मुनीका विद्यार्थीलाई पुष १५ देखि मोडर्ना खोप लगाउन सुरु गरिएको छ । जिल्लाका सवै विद्यालयका ३३ हजार बालबालिकामध्ये पहिलो चरणमा २५ हजार बालबालिका लाई खोप लगाइँदै छ ।
पहिलो चरण अन्तर्गत पुस २६ गते भित्र खोप लगाइसक्नु पर्नेछ । अधिकांश खोप केन्द्रहरु विद्यालयमा नै स्थापना गरिएका छन् । बिद्यार्थीको सहजताका लागि केही खोप केन्द्रमात्रै अस्पताल तथा स्वास्थ्य चौकीमा स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।