स्वास्थ्य |

विकटमा आधारभूत स्वास्थ्य सेवा सञ्चालन


भोटराज राई
उदयपुर, पुस २२ गते । उदयपुरको दुर्गमस्थान त्रियुगा नगरपालिका–१४ को धाप्लाङ बाँजगरामा आधारभूत स्वस्थ्य सेवा सञ्चालनमा आएको छ । राजनीतिक भगोल नगरपालिकामा परे पनि विकटता, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी जस्ता आधारभुत कुराले वञ्चित छन् त्यस ठाउँका बासिन्दाहरु । यही कुरालाई विचार गर्दै स्थानीय सरकारले आधारभूत स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको हो ।

नगरपालिकाका मेयर बलदेव चौधरीका अनुसार अव त्यस ठाउँ र आसपासका स्थानीयले प्रभावकारी स्वस्थ्य सेवा पाएका छन् । अनमी अरुण पण्डितको नेतृत्वमा आधारभुत स्वस्थ्य सेवा सञ्चालन भएको छ । आवश्यक औषधि र स्वास्थ्य औजार, मेसिनहरुको आवश्यकता अनुसार ब्यवस्था गरिएको छ । निकट भविष्यमा अहेवसम्मको ब्यवस्था गर्ने योजना छ ।

वडाध्यक्ष कुरुङ राईका अनुसार त्यसभेगका स्थानीयलाई वडाको स्वास्थ्य केन्द्रसम्म धाउन तीन घण्टा बढी लाग्ने भएकोले गाउँमै स्वस्थ्य पहुँच पुर्याउन सेवा सञ्चालनका लागि पहल गरिएको थियो । वडाको पहल अनुरुप अहिले सफलता मिलेको छ । त्यहाँ सुरु गरिएको स्वस्थ्य सेवाले सिम्ले, झिर्लिङ, रातमाटे, तोरिबारी, बुलुवा, पुङ्वाङबाजगरा, मोक्सा, धाप्लाङ, सिम्पाखा, मुक्सार लगायतका गाउँहरुमा सेवा पुग्नेछ साथै छिमेकी जिल्ला खोटाङको सुन्तले गाउँपालिका अन्तर्गत तल्लो धाप्लाङसम्मका बासिन्दालाई सेवा पुग्नेछ ।

नागरिकको स्वस्थ्यलाई प्राथमिकतामा राखेको स्थानीय सरकारले दुर्गम क्षेत्रमा बढी ध्यान दिन जरुरी छ । दुर्गमका जनजीवनको स्वस्थ्यमा पहुँच कमी छ । भौगोलिक विकटताका कारण स्वस्थ्य संरचना निर्माण तथा जनशक्ति, स्रोत, साधन जुटाउन खर्चिलो र चुनौतीपूर्ण देखिन्छ । अर्कोतर्फ त्यस्ता ठाउँका बासिन्दाहरु बिरामी परेमा प्राथमिक उपचारका लागि पनिस्वस्थ्य केन्द्र पुग्न कष्टपूर्ण हुन्छ ।

वालवालिकालाई पूर्ण खोप लगाउन टाढा पर्दछ । यो समस्या वर्षायाममा झनै बढी हुनेगर्छ । सुगम होस् या दुर्गम स्वस्थ्य सेवा हरेक नागरिकको मौलिक अधिकार हो । विकटका जनजीवनको स्वस्थ्य समस्या र उनीहरुको स्वस्थ्य अधिकारलाई सम्मान गर्दै सेवा सञ्चालन गरेको नगरपालिकाका सामाजिक विकास समितिका संयोजक मानबहादुर राईले बताउनुभयो । वडाको पहलमा नगरपालिकाले आधारभूत स्वस्थ्य सेवा सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।

संयोजक राईका अनुसार नगरपालिकाले १६ वटै वडामा यस किसिमको सेवा प्रभावकारी बनाउन लागिपरेको छ । स्वस्थ्य सेवाबाट कोही वञ्चित् नहुन भन्ने हेतुले गाउँतहसम्म यस किसिमको सेवा प्रवाह गरिएको छ ।