समयअगावै जन्मिएका शिशुमा अन्धोपनको जोखिम
शशिधर पराजुली
विराटनगर, पुस २६ गते । अस्पतालका एनआइसियूहरुमा नियमित शिशुहरुको आँखा जाँच गर्ने निशुल्क अभियान सञ्चालन भएकैकारण एक वर्षको अवधिमा विराटनगरका अस्पतालहरुमा समय नपुगी जन्मिएका दश जना शिशु दृष्टिविहीन हुनबाट जोगिएका छन् । विराटनगर आँखा अस्पतालले सञ्चालन गरेको अभियान र सेवाकाकारण नवजात शिशुहरुको दृष्टि जोगिएको हो ।
शरीरका अंगहरु पूर्णरुपमा विकसित भइनसकेका शिशुहरु जन्मिएको खण्डमा एक महिनाभित्र त्यस्ता शिशुहरुको अनिवार्य आँखा जाँच गराई उपचार गराउनुपर्ने चिकित्सकको सुझाव छ । त्यसो गर्न नसके शिशुहरु अन्धोपनको शिकार हुनसक्ने जोखिम बढी हुनेगरेको अस्पतालका चिकित्सकले बताउनुभएको छ । अस्पतालले त्यस्ता शिशुलाई लक्षित गरेर आँखा जाँच गर्दा ‘रेटिनोपैथी अफ प्रि मेचुरिटी’ (आरओपी) को समस्या भएका दश जना शिशुहरुको दृष्टि जोगाउन सफल भएको विराटनगर आँखा अस्पतालका कार्यक्रम निर्देशक सुधिर ठाकुले जानकारी दिनुभयो ।
विराटनगरका विभिन्न अस्पतालमा अघिल्लो वर्ष २५५ जना शिशुहरु समय नपुगि जन्मिएका थिए । त्यस्ता शिशुहरुको समयमै आँखा परीक्षण गरी अंगहरु विकास हुनेक्रममा आँखामा उत्पन्न हुने समस्या निराकरण गर्न सफल भएको डा. रक्षा पन्तले जानकारी दिनुभयो ।
विराटनगर आँखा अस्पतालले विराटनगर र आसपासमा सञ्चालित अस्पतालका एनआइसीयूहरुमा साताको एक दिन निःशुल्क आँखा परीक्षण सेवा सञ्चालन गर्नेगरेको छ । अभियानकाक्रममा दश जनामा आँखाको गम्भीर समस्या पहिचान भएको र समयमै उपचार गर्दा उनीहरु दृष्टिविहीन हुनबाट जोगिएको चिकित्सकले जनाउनुभएको छ ।
‘जन्मिएको ३० दिनभित्र शिशुहरुको आँखाको उपचार नगरिएको भए सँधैकालागि उनीहरुको दृष्टि गुम्ने थियो’ डा. पन्तले भन्नुभयो ‘एनआइसीयूमा उपचाररत शिशुहरुको आँखा हाम्रो अभियान र सेवाबाट जोगिएको छ ।’ अभियान र सेवालाई धरान झापालगायत अन्यत्र विस्तार गर्न जरुरी रहे पनि स्रोत साधनका कारण तत्काल सम्भव नरहेको उहाँले बताउनुभयो ।