बेलहिया नाकामा उच्च सतर्कता
लक्ष्मण पौडेल
भैरहवा, पुस २७ गते । कोरोनाको जोखिम बढेपछि रुपन्देहीको बेलहिया नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । चेकजाँचमा कडाई गरिएसँगै अहिले बेलहिया नाकाबाट नेपाल भित्रिनेको सङ्ख्या पनि पातलिएको छ ।
केही दिनअघि मात्र बेलहिया नाकाबाट भित्रिएको बसमा सवार यात्रुहरुलाई चेकजाँचका क्रममा कोरोना संक्रमण देखिएपछि नेपाल प्रवेश अनुमति नदिएर उतै फर्काइएको थियो । “अहिले सीमा नाका खटिएका कर्मचारीले स्वास्थ्य जाँच गरेर मात्रै नेपाल प्रवेशको अनुमति दिन्छन्, स्वास्थ्य जाँचविना गन्तव्यमा पुग्न रोक लगाइएको छ”–रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भन्नुभयो ।
अहिले भारतबाट नेपाल भ्रमणका लागि आउने पर्यटकहरुलाई समेत सुरक्षाकर्मीले बेलहिया नाकामा रोक्ने गरेका छन् । दिनहुँ आउने पर्यटकहरुलाई बेलहिया हेल्थ डेस्कमा कोरोना परीक्षण गर्ने व्यवस्था छ । कोरोना पोजेटिभ देखिए उनीहरुले नेपाल भ्रमणको अनुमति पाउँदैन ।
इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नवीन पौडेलले झिन्टीगुन्टा बोकेर स्वदेश फर्किने नेपाली र बाह्य पर्यटकहरुको नाकामा एन्टिजन विधिबाट कोरोना परीक्षण हुने गरेको जानकारी दिनुभयो । “स्वदेश फर्किएका नेपालीमा संक्रमण देखिए सुरक्षितरुपमा गन्तव्यमा पु¥याइन्छ भने भारतबाट आउने पर्यटकहरुमा सङ्क्रमण देखिए नाकाबाट नै फर्काउने गरिएको छ”–उहाँले भन्नुभयो ।
भारतमा कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिन थालेपछि रुपन्देहीको बेलहिया नाकामा सतर्कता अपनाउन थालिएको हो । कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी तथा विभिन्न सङ्घ–संस्थाका कर्मचारी खटिएका छन् ।
भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । रोजगारीका लागि भारत गएका नेपाली स्वदेश फर्किँदा र पर्यटकको रुपमा भारतीय नागरिक मुलुकमा भित्रिँदा सङ्क्रमण बढ्न बल पुगेको छ । अन्य नाकामा एन्टिजन विधिबाट कोरोना परीक्षण हुने भए पनि स्थानीय सर्वसाधारणलाई नाकाबाट आवतजावतमा कुनै रोकावट छैन । जसबाट पनि सङ्क्रमणको जोखिम बढेको ओमसतिया गाउँपालिकाकाका प्रमुख हीरा केवटले बताउनुभयो ।
नाकाबाट आवतजावत गर्ने अधिकांश सर्वसाधारणले स्वास्थ्य मापदण्डको पालना नगर्ने गरेको पाइएको छ । बेलहिया नाकाबाट दैनिक हजारौँ व्यक्ति आवतजावत गर्छन् । उनीहरुलाई नाकामा खटिएका कर्मचारीले स्वास्थ्य मापदण्डको पालना गरेर मात्रै सम्बन्धित ठाउँमा पुग्न आग्रह गर्ने गरेका छन् ।
भारतमा सङ्क्रमण बढेसँगै बेलहिया नाकामा एन्टिजन परीक्षणको दायरा बढाइएको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नाकामा एन्टिजन परीक्षणको दायरा बढाउँदा नाकामै सङ्क्रमित फेला पर्न थालेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताउनुभयो । उहाँका अनुसार बेलहिया नाकामा पुस २१ गते स्वदेश भित्रिनेमध्ये २८० जनाको एन्टिजन परीक्षण गर्दा ३६ जनामा पोजेटिभ देखिएको थियो । त्यस्तै, २२ गते ५१८ जनामा परीक्षण गर्दा १०५ जनामा, २३ गते १८० जनामा परीक्षण गर्दा १८ जनामा, २४ गते ४०७ जनामा परीक्षण गर्दा ३९ जनामा, २५ गते २३० जनामा परीक्षण गर्दा २६ जनामा र २६ गते ३२५ जनामा परीक्षण गर्दा ३१ जनामा पोजेटिभ देखिएको छ ।
नाकाबाट सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि सतर्कताका साथै एन्टिजन परीक्षणको दायरा बढाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनुभयो । उहाँले सङ्क्रमित नेपाली यात्रुहरुका लागि होल्डिङ सेन्टर र आइसोलेशन सेन्टर सञ्चालनको तयारी सुरु भएको बताउनुभयो । साथै, सुरक्षित रुपमा उनीहरुको गन्तव्यसम्म पु¥याउनका लागि यातायातको व्यवस्था मिलाउने तयारी भएको छ ।