औषधि अभाव नहोस् : प्रधानमन्त्री
गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना सङ्क्रमण प्रतिरोधात्मक औषधिको अभाव नहुन दिन र ती औषधिको तत्काल व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाण र नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीलाई बालुवाटार बोलाएर उहाँले कुनै पनि औषधिको अभाव हुन नदिन र त्यसका लागि आवश्यक व्यवस्थापन गर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री देउवाले औषधि आपूर्ति तथा व्यवस्थापनका लागि कुनै कसर बाँकी नराख्न स्पष्ट निर्देशन दिनुभयो ।
कोरोना सङ्क्रमणले जनजीवन आक्रान्त भइरहेका बेला नेपाली बजारमा सिटामोललगायतका औषधिको अभाव भएको भन्ने केही सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री देउवाले अभाव हुन नदिन र कालोबजारी रोक्न यस्तो निर्देशन दिनुभएको हो । बुधबार बिहान प्रधानमन्त्री देउवाले गृहमन्त्री खाण र मुख्यसचिव बैरागीलाई बालुवाटारमा बोलाएर छलफल गर्नुभएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले बताउनुभयो ।
केही दिनअघि प्रधानमन्त्री देउवाले सरुवा तथा सङ्क्रामक रोग विशेषज्ञहरूसँग पनि छलफल तथा परामर्श गर्नुभएको थियो । सरकारका सबै सरोकारवाला निकायका प्रमुखलाई राखेर भएको सो छलफलमा निजी स्तरका अस्पतालले कोरोनासँग सम्बन्धित औषधि बढी मूल्य लिएको सुन्नमा आएको भन्नुहुँदै प्रधानमन्त्री देउवाले त्यस्ता अस्पतालमा सघन तरिकाले निगरानी राखी तत्काल कारबाही गर्न निर्देशन दिनुभएको थियो ।
बुधबार प्रधानमन्त्री देउवाको निर्देशनपछि मुख्यसचिव बैरागीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल औषधि लिमिटेड तथा निजी स्तरका औषधि उत्पादक कम्पनीहरूसँग पनि परामर्श गर्नुभएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले गोरखापत्रसँग भन्नुभयो, “हामीलाई मुख्य सचिवबाट औषधिको उपलब्धता भए/नभएको बारे जानकारी मागिएको थियो । अहिलेको अवस्थामा सिटामोलको अभाव भन्ने कुरा बाहिर समाचार आइसकेपछि तत्कालै औषधिको अभाव नहुने गरी व्यवस्थापन गर्न निर्देशन पनि दिनुभयो । हामी निरन्तर बजारको स्थितिलाई अवलोकन गरिरहेका छौँ । हाल बजारमा अहिले कुनै पनि औषधिको अभाव छैन ।”
सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेड तथा निजी स्तरका नेपाली औषधि उत्पादक कम्पनीहरूले सिटामोललगायतका औषधि उत्पादन गर्न छाडेका हुन् र ? भन्ने जिज्ञासामा सचिव डा. पोखरेलले भन्नुभयो, “नेपाली कम्पनीहरूले उत्पादन लागतभन्दा कम रकममा सिटामोल बिक्री गरिरहेका छन् । सरकारले मूल्य बढाएको छैन । नेपाल औषधि लिमिटेडले उत्पादन गरेको सबै सिटामोल सरकारले खरिद गर्ने भएको छ । त्यसैले अब उसको उत्पादन निरन्तर भइरहन्छ र निजी कम्पनीहरू पनि पुरानै मूल्यमा बिक्री गर्ने गरी उत्पादन गर्ने कुरामा सहमत भएका छन् ।”
नेपालमा हाल सिटामोललगायतका अत्यावश्यक औषधिहरू सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेड र अरू एक दर्जन निजी क्षेत्रका औषधि उत्पादक कम्पनीले उत्पादन गरिरहेका छन् ।
प्रधानमन्त्री देउवाको निर्देशनपछि गृहमन्त्री खाणले मातहतका निकायलाई यदि कसैले औषधिीको कृत्रिम अभाव गरेको पाइएमा कालोबजारी गर्ने र औषधि लुकाउनेलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको छ । कोरोनाको सङ्क्रमण बढेसँगै सिटामोल तथा एन्टिबायोटिक औषधिको माग दिन प्रतिदिन बढ्दै गएको छ ।
पीसीआर परीक्षण शुल्क घट्यो
प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि पीसीआर परीक्षणको शुल्क घटाइएको छ । प्रधानमन्त्री देउवाले निजी अस्पताल तथा ल्याबमा पीसीआरको शुल्क बढी भएको गुनासो आएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई शुल्क घटाउन निर्देशन दिनुभएको थियो । सोही निर्देशन अनुसार बुधबारबाट स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाएको हो ।
अबदेखि सरकारी अस्पतालमा भर्ना भएका बिरामीको निःशुल्क पीसीआर परीक्षण हुनेछ । परीक्षण मात्रै गर्नेलाई आठ सय रुपियाँभन्दा बढी लिन नपाउने निर्णय गरिएको छ । यसअघि सरकारी अस्पतालमा पीसीआर परीक्षणको एक हजार रुपियाँ शुल्क लिने गरिएको थियो । त्यसैगरी निजी अस्पताल तथा ल्याबहरूले एक हजार पाँच सय रुपियाँभन्दा बढी शुल्क लिन नपाउने निर्णय पनि स्वास्थ्य मन्त्रालयले गरेको छ । यसअघि निजी अस्पताल तथा ल्याबले पीसीआर परीक्षणको दुई हजार रुपियाँ शुल्क लिने गरेका थिए ।