स्वास्थ्य |

तनहुँमा कोरोना लक्ष्यणयुक्त बिरामी बढ्दै

अमरराज नहर्की
तनहुँ, माघ ८ गते । तनहुँमा कोरोना भाइरसको लक्ष्यणसँग मिल्दोजुल्दो र अन्य सङ्क्रणमा बिरामी बढेका छन् । बिरामीको चाप धेरै भएकोले सरकारी तथा निजी क्लिनिकमा भीडभाड भएको छ । जिल्लाभर ज्वरो आउने रुघाखोकी लाग्ने, टाउको तथा घाँटी दुख्ने समस्या भएका बिरामी बढेका हुन् ।

सदरमुकाम दमौलीका अतिरिक्त डुम्रे, आँबुखैरेनी, भिमाद, खैरेनीटार, दुलगौंडा जस्ता मुख्य बजार तथा ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थामा बिरामी बढेका छन् । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोईराला श्वासप्रश्वास उपचार केन्द्रमा बिरामीको चाप धेरै भएकोले केन्द्रमा भीडभाड बढेको छ । ज्वरो आउने रुघाखोकी लाग्ने, टाउको तथा घाँटी दुख्ने समस्या भएका बिरामी बढीरहेको केन्द्रका कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

‘दैनिक दुई सयदेखि २५० जना बिरामी आउने गरेको छन् । त्यसमा अधिकांश कोरोना भाइरसको लक्ष्यणसँग मिल्दोजुल्दो रहेका छन्’ डा. श्रेष्ठले भन्नुभयो । बालबालिकामा धेरै निमोनियाको समस्या र अन्यमा अधिकांश रुघा, खोकी, ज्वरोका बिरामी धेरै भएको डा. श्रेष्ठले जानकारी दिनुभयो । हाल बिरामीको चाप धेरै भएकोले अस्पतालका चिकित्सकलाई भ्याइ÷नभ्याई भइरहेको छ । चिसो मौसम भएकाले रुघा, खोकीका बिरामीको सङ्ख्या धेरै हुने गरेको केन्द्रले जनाएको छ । पहिलेभन्दा हाल कोरोनो लक्ष्यणसँग मेल खाने दोब्बर बढी बिरामी उपचारमा आउने गरेको केन्द्रकी नर्सिङ अधिकृत रिना पौडेलले जानकारी दिनुभयो । हाल कोरोना सङ्क्रमण बढीरहेकाले बिरामीहरुलाई मास्क लगाउन, साबुनपानीले हात धुन, कोभिडविरुद्धको खोप लगाउन सुझाव दिँदै आएको नर्सिङ अधिकृत पौडेल बताउनुहुन्छ । हाल पहिलेभन्दा कोरोनासँग मिल्दो बिरामीहरु दोब्बर बढी आएको दमौली अस्तालले जनाएको छ ।

भिमाद नगरपालिका–६ भिमाद बजारस्थित भिमाद प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख डा.सागर घिमिरे केन्द्रमा कोरोना लक्ष्यणसँग मिल्दोजुल्दो मात्रै बिरामी आउने गरेको जानकारी दिनुभयो । भिमाद क्षेत्रका कोराना सङ्क्रिमण बिरामीहरु व्यापक रुपमा फैलिएको अनुमान गरिएको उहाँ बताउनुहुन्छ । बिरामी मात्रै नभएर केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी गरी १९ जनामध्ये १७ लाई कोरोना सङ्क्रमण भएको जानकारी दिनुभयो । विगत पाँच दिनदेखि यस कार्यालयमा कार्यरत सबै चिकित्सक, फार्मेसी, सबै पारामेडिक्स स्टाफहरु, तीन जना नर्सिङहरु, फार्मेसी, एक्सरे, आँखा उपचारकक्षका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि हुनुका साथै स्वास्थ्यमा ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, स्वाद हराउने जस्ता लक्ष्यण देखिएको हुँदा शुक्रबार र शनिबार गरी दुई दिन डेलिभरी र एन्टिजेन सेवा बाहेक सबै सेवाहरु बन्द गरिएको जानकारी दिनुभयो ।