हुम्लामा पर्याप्त सिटामोल मौज्दात
राजन रावत
हुम्ला माघ ९ गते । देशभर पारासिटामोलको समस्या भएको सूचना बाहिर आइरहेका बेला हुम्लामा भने त्यसको मौज्दात राम्रो देखिएको छ । समयमै स्वास्थ्य सेवा कार्यालय र गाउँपालिकाहरुले सिटामोल खरिद गरेको कारण जिल्लाभरि नै मौज्दात राम्रो देखिएको हो ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले हाल कार्यालयको भण्डार कक्षमा एक लाख ट्याब्लेट सिटामोल मौज्दात रहेको बताउनुभयो । उहाँले कोरोना सङ्क्रमणका लागि प्रयोग हुनेदेखि सबैखाले सिटामोलको अवस्था राम्रो भएको कारण कुनै समस्या नहुने बताउनुभयो । कोरोना बिरामीलाई समेत उपचारमा प्रयोग हुने सिटामोलको कुनै कमी हुन नदिने कार्यालयले जनाएको छ ।
जिल्लाका सातवटै गाउँपालिकाले माग गरेका आधारमा वितरण कार्यालयले मिलाएको जनाएको छ । कार्यालयमा सिटामोलको मौज्दात राम्रो भएको कारण गाउँपालिकाका स्वास्थ्य चौकीहरुमा आवश्यकता हेरेर वितरण गर्न सकिने उहाँले बताउनुभयो । यता, उत्तरी नाम्खा गाउँपालिकाको स्वास्थ्य संयोजक ग्याछो लामाले शाखामा ६ हजार र गाउँपालिकाका अन्य वडाका दश वटा स्वास्थ्य संस्थामा तीन महिनाका लागि पुग्ने सिटामोल तयारी अवस्थामा रहेको बताउनुभयो ।
त्यसैगरी चंखेली गाउँपालिकाले बाह्र हजार, ताँजाकोट गाउँपालिकाले दश हजार, अदानचुली गाउँपालिकाले दुई हजार ट्याब्लेट सिटामोल मौज्दात रहेको जनाएको छ । यद्यपि अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले कोरोना सङ्क्रमणका बिरामीका लागि आवश्यक पर्ने पारा सिटामोलको कमी रहेको बताउनुभयो । उहाँले बीस हजार ट्याब्लेट खरिद गर्ने तयारी गरिएको भए पनि हालसम्म नभेटाएको बताउनुभयो ।
यता मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोस धामीले बीस हजार ट्याब्लेट सिटामोल शाखाको मौज्दात रहेको बताउनुभयो । छ वटा स्वास्थ्य चौकीसहित अन्य स्वास्थ्य संस्थाहरुमा एक हजार पाँचसय ट्याब्लेट रहेको उहाँको भनाइ छ । हाल गाउँपालिकाभरि सिटामोलको कुनै समस्या नरहेको र अझै बीस हजार ट्याब्लेट सिटामोल खरिदको प्रक्रियामा रहेको उहाँले जनाउनुभयो ।
त्यसैगरी सिमकोट गाउँपाकिलाका स्वास्थ्य संयोजक नर भण्डारीले शाखामा सात हजार र आठ वटै वडाका स्वास्थ्य संस्थामा एक हजारदेखि दुई हजार ट्याब्लेट सिटामोल मौज्दात रहेको जानकारी दिनुभयो । त्यसैगरी खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले पन्ध्र हजारभन्दा बढी ट्याब्लेट स्वास्थ्य शाखामा मौज्दात रहेको र अन्य वडाको स्वास्थ्य संस्थामा पनि उपलब्ध गराइएको बताउनुभयो ।