स्वास्थ्य |

वीरगञ्जमा एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु

दीपकप्रसाद गौतम
वीरगञ्ज, माघ ११ गते । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको छ । नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहका अनुसार सोमबार अस्पताल भर्ना भएका एक ६० वर्षीय वृद्धको मंगलबार बिहान पौने ५ बजे मृत्यु भएको हो ।

बारा जिल्ला कोल्भी नगरपालिका–३ का ६० वर्षीय वृद्धलाई कडा खालको निमोनिया देखिएको र उनले कोभिडको खाेप पनि नलगाएको पाइएको डा. सिंहलले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याइएका ती वृद्धलाई एन्टिजेन परीक्षण गर्दा सोमबार नै कोभिड सङ्क्रमण पुष्टि भएको थियो । कोरोनाको तेश्रो लहर ओमिक्रोनबाट तीन जनाको मृत्यु भएको डा. सिंहले बताउनुभयो ।

सोमबार नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा ४२ वटा नमुना परीक्षण गर्दा २३ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेमा पर्सामा १२, बारामा सात, रौतहटमा तीन र सर्लाहीमा एक जना छन् । सङ्क्रमण पुष्टि हुनेमा १५ जना पुरुष र आठ जना महिला रहेको डा. सिंहले बताउनुभयो ।