भारतबाट फर्किएका सुदूरपश्चिमका चार जनामा ओमिक्रोन पुष्टि
अविनाश चौधरी
धनगढी, माघ ११ गते । भारतबाट फर्किएका सुदूरपश्चिमका चारजना व्यक्तिमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।
त्रिनगर–गौरीफन्टा भन्सार नाका भएर फर्किएका व्यक्तिहरुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका–२ का २९ वर्षीय पुरुष, दोधारा चाँदनी नगरपालिका–२ का ४२ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको छ । यसैगरी, डोटीको पूर्वीचौकी गाउँपालिका–७ का ४८ वर्षीय पुरुष र बझाङको बित्थडचीर गाउँपालिका–२ का ३३ वर्षीय पुरुषमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।
भारतबाट नेपाल प्रवेश गरेकाहरुको एन्टिजेन गर्दा कोभिड–१९ सङ्क्रमण पुष्टि भएकामध्ये भेरियन्ट पहिचानका लागि १४६ नमूना जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको थियो । त्रिनगर हेल्थ डेस्कमा सङ्कलन गरिएका नमूनामध्ये चार वटा नमूनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ती प्रकाशित गरी जानकारी दिएको छ । भेरियन्ट पुष्टिका लागि पुस २५ गते नमूना पठाइएको थियो ।
ओमिक्रोन भेरियन्ट पुष्टि भएका व्यक्तिहरु सम्पर्क बाहिर रहेको जनाइएको छ । सम्बन्धित जिल्ला र पालिकामार्फत ती व्यक्तिहरुलाई सम्पर्कमा ल्याइ कन्ट्याक्ट ट्रेसिङ गर्ने मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताउनुभयो ।
भारतमा तेस्रो चरणको कोरोना सङ्क्रमण भयावह भएपछि कामका लागि गएका नेपालीहरु धमाधम स्वदेश फर्किरहेका छन् । प्रदेशको त्रिनगर गौरीफन्टा, गड्डाचौकी, झुलाघाट, पुलघाट नाकाबाट फर्किएका अत्यधिक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका कैयौं व्यक्ति परीक्षण नगराइ गन्तव्यतर्फ गएकाछन् भने कतिपय पोजेटिभ व्यक्ति नाकाबाटै भागेर सम्बन्धित संस्थाको सम्पर्कबाहिर रहने गरेका छन् ।