कोभिडविरुद्धको खोप नलगाउनेको मृत्यु बढी
गोविन्द शर्मा
बाँके, माघ १२ गते । बाँकेमा गत मङ्सिर २६ गते यता कोभिड सङ्क्रमणबाट चार जनाको निधन भयो । चार जना्मध्ये तीन जनाले कोभिडविरुद्धको खोप नलगाएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका सम्पर्क ब्यक्ति तेज वलीका अनुसार भेरी अस्पतालमा उपचारको क्रममा निधन भएका चार जनामध्ये बर्दिया मधुवन नगरपालिका ६ का ७१ वर्षीय पुरुषले मात्रै खोप लगाएको पाइएको छ । उहाँको मङ्गलबार राती उपचारको क्रममा भेरी अस्पतालमा निधन भएको थियो ।
लक्षित उमेर समूहका र जेष्ठ नागरिकले समेत खोप नपाएको उहाँहरुको गुनासो छ । जिल्ला कोभिड ब्यवस्थापन केन्द्र बाँकेका सम्पर्क ब्यक्ति वलीले भन्नुभयो, “कोभिडविरुद्धको खोप प्रभावकारी देखिएको छ । बाँकेमा खोप लगाउनेको सङ्ख्या बढी भए पनि अन्यत्र जिल्लाबाट उपचारका लागि आउने बिरामीहरुमध्ये धेरैजनाले खोप नपाएको देखिएको छ ।” बाँकेमा कोभिडविरुद्धको पहिलो खोप ८३ प्रतिशत र दोस्रो खोप लगाउने ५५ प्रतिशत पुगेको छ ।
बुधबार बिहान भेरी अस्पतालमा उपचारको क्रममा निधन भएका कालिकोटको शुभकामना गाउँपालिका ५ का १६ वर्षीय पुरुषले खोप नलगाएको पाइएको छ । यसैगरी माघ ११ गते नै भेरीमा उपचारको क्रममा निधन भएका बाँकेको कोहलपुर नगरपालिका २ का ७० वर्षीय महिला र माघ ३ गते भेरीमै उपचारको क्रममा निधन भएका दाङ तुलसीपुर ६ की ४१ वर्षिया महिलाले पनि खोप नलगाएको अस्पतालले जनाएको छ ।
बाँकेमा कोभिडविरुद्धको खोप अनिवार्य गरिएको छ । खोप कार्ड नभएका ब्यक्तिलाई सरकारी कार्यालयमा प्रवेश नदिने नियम बनाइएपछि पछिल्लो समय खोप लगाउनेको भीड देखिएको छ । भेरी अस्पतालमा बुष्टर खोप सञ्चालन जारी छ । माघ १४ गतेदेखि जिल्लाभरिका ८१ वटा वडामा कोभिशिल्ड र भेरोसेल खोपको बुष्टर डोज सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।