स्वास्थ्य | मुख्य समाचार | खुला | समाज |

११ वर्षमा ३५ हजार कुष्‍ठरोगी थपिए

काठमाडौँ, माघ १६ गते । नेपालमा हरेक वर्ष कुष्‍ठरोगका बिरामी बढ्दै गएका छन् । सन् २०१० मा नेपाललाई कुष्‍ठरोग निवारण मुलुकको रुपमा घोषणा गरेयता ३५ हजार बिरामी थपिएका हुन् ।

कुष्ठरोग निवारण घोषणा भएपछि बिरामीको सङ्ख्या घटेर शून्यमा झर्नुको सट्ट ११ वर्षमा ३५ हजार भन्दा बढी बिरामी थपिएका हुन् । यसरी बिरामी बढ्नु नेपालको लागि आर्थिक, सामाजिक हिसाबले निकै दुःखद भएको स्वास्थ्य सेवा विभाग अन्तर्गत अपाङ्ग तथा कुष्ठरोग नियन्त्रण केन्द्रका प्रमुख डा. रविन्द्र बाँस्कोटा बताउनुहुन्छ ।

प्रत्येक वर्ष ३ हजार ३५ सयको दरले कुष्‍ठ रोगका बिरामी थपिएको बाँसकोटाले जानकारी दिनुभयो । नेपाललाई विश्व स्वास्थ्य संगठनले २०१० कुष्‍ठरोग निवाण मुलुक भनेर घोषण गरेको थियो । उक्त समयमा नेपालमा प्रति १० हजार जनसङ्ख्यामा एक प्रतिशतभन्दा कम कुष्‍ठरोगका बिरामी थिए । नेपालले २०२० सम्ममा कुष्ठरोग उन्मूलन गर्ने लक्ष्य राखेको थियो ।

निवारण गरेपछि रोग बढ्नु समाजको लागि निकै दुःखद भएको डा. बाँस्कोटाको भनाइ छ ।

एक वर्षमा कति सङ्क्रमित थपिए ?
आर्थिक वर्ष २०७७÷७८ मा मात्रै २१ सय ७३ जना नयाँ कुष्‍ठरोगका बिरामी थपिएका छन् । डा. बाँस्कोटाका अनुसार सङ्क्रमितमध्ये ३७ प्रतिशत महिला छन् । त्यस्तै १५ वर्षमुनिका १०१ जना बालबालिका कुष्‍ठरोगबाट प्रभावित भएका छन् ।
९५ जनाको कुष्‍ठरोगका बिरामी अङ्गभङ्ग भएको अवस्थामा भेटिको डा. बास्कोटा बताउनुहुन्छ ।

झापा, मोरङ, धनुषा, पर्सा, बारा, रौतहट, कपिलवस्तु, रुपन्देही, बाँके, कैलाली गरेर ११ जिल्लामा सबैभन्दा बढी सङ्क्रमित छन् । त्यस्तै सङ्क्रमितमध्ये ५५ वटा जिल्लामा मध्यम खालमा बिरामी छन् । त्यस्तै ११ जिल्लामा कम सङ्क्रमित छन् ।

नेपालमा कुष्ठरोगी प्रभावित जिल्ला प्रायः भारतसँग सिमाना जोडिएका छन् । भारतबाट वार्षिक रूपमा कुष्ठरोगी उपचारका लागि ६ देखि ७ सय बढी बिरामी आउने गर्छन् ।

के हो कुष्ठरोग ?
कुष्ठरोग एक प्रकारको सानो आँखाले देख्न नसकिने माइक्रो ब्याकटोरिया लिप्रे नामको कीटाणुबाट छाला तथा नशामा असर पार्ने एक किसिमको रोग हो । यसले मुख्यरुपमा छाला तथा नशामा असर गर्छ। समयमै उपचार गरिएन भने अरु अङ्गमा पनि असर पु¥याउने डा. बाँस्कोटा बताउनुहुन्छ । लामो समयसम्म उपचार भएन भने अङ्गभङ्ग भएर अपाङ्गता गराउनसक्छ। कुष्ठरोग श्वासप्रश्वासको माध्यमबाट सर्छ। उपचार नगरेको कुष्ठरोगका बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वास–प्रश्वासको माध्यमबाट यो रोग सर्नसक्छ।

रोगका दृष्टिकोणले कुष्ठरोगलाई दुई प्रकारमा विभाजन गर्न सकिन्छ । पहिलो, कम कीटाणु भएको ‘प्यासी ब्यासेलरी’ र अर्को, बढी कीटाणु भएको ‘मल्टी ब्यासिलटी’ । नेपालमा पीबीभन्दा पनि एमबीको कुष्ठरोगी धेरै छन् ।

कुष्‍ठ रोगको लक्षण के हो ?
छालामा रातो, फुस्रो दाग देखा पर्ने, झमझम गर्ने, छुँदा\चिमोट्दा थाहा नहुने, बाहिरी सतहका स्नायु सुन्निनु, हात तथा खुट्टामा नदुख्ने घाउ देखापर्ने, आगोले पोल्दासमेत थाहा नहुने, रौँहरू झर्ने कुष्ठरोगका लक्षण हुन्। डा. बाँस्कोटाका अनुसार यो रोग लागेपछि कानका लोती बाक्लो हुने, नसा दुख्ने, हातखुट्टा झमझम गर्ने गर्दछन् ।

निःशुल्क उपचार
कुष्ठरोगको औषधि निःशुल्क पाइन्छ । औषधिको सेवन गर्दा साधारण वा गम्भीर असर देखापरेमा स्वास्थ्यकर्मीसँग सल्लाह गर्नुपर्छ । यो रोग सरेको २ देखि ५ वर्षभित्रमा यसका लक्षण देखिन्छन् । ‘मल्टी ब्यासिलटी’ कुष्ठरोगीले १२ महिना औषधि खानुपर्ने हुन्छ । ‘प्यासी ब्यासेलरी’ कुष्ठरोगीले ६ महिनासम्म औषधि खानुपर्छ । अङ्गभङ्गका भएकाको शल्यक्रिया पनि स्वास्थ्य संस्थामा निःशुल्क हुन्छ ।

नेपालमा अहिलेसम्म कुष्‍ठरोगबाट प्रभावित व्यक्तिको सङ्ख्या २ लाख बढी पुगेको छ । जसमध्ये ३० हजारभन्दा बढी मानिस रोगका कारण अङ्गभङ्ग भएका छन् । कुष्ठरोगबाट प्रभावितलाई जागरूक बनाउन सन् १९५४ देखि विश्व कुष्ठरोग दिवस मनाउन थालिएको हो।

यो वर्ष ‘कुष्ठरोगका लागि हाम्रो प्रतिबद्धता, आत्मसम्मानको लागि ऐक्यबद्धता’ भन्ने नारासहित आइतबार ६९ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ। यो दिवस जनवरी महिनाको अन्तिम आइतबार मनाउने गरिएको छ ।