गर्भवतीमा कोरोना सङ्क्रमण बढ्दो अवस्थामा
कैलाश लामा
चरिकोट, माघ १६ गते । हिमाली जिल्ला दोलखामा पछिल्लो समय कोभिड सङ्क्रमण दर बढ्दो छ । कोभिडबाट गर्भवती र बालबालिका पनि सुरक्षित रहन सकेका छैनन् । दोलखामा पछिल्लो दुई हप्तामा १० जना सङ्क्रमित महिलाले बच्चा जन्माएका छन् ।
सङ्क्रमित आमाबाट बच्चा जन्माए पनि आमा र बच्चा दुवै सुरक्षित रहेको चरिकोट अस्पतालका प्रमुख डाक्टर विनोद दंगालले जानकारी दिनुभयो । बच्चा जन्मदा कोभिड नदेखिए पनि आमाले खोक्दा खकारबाट बच्चामा पनि कोभिड सर्न सक्ने बताउनुभयो ।
पछिल्लो दुई हप्तामा आठ जना सङ्क्रमित गर्भवतीको सामान्य प्रसूति र दुई जनाको शल्यक्रियाबाट प्रसूति गराइएको छ । जसमा आमा र बच्चा दुबैको स्वास्थ्य समान्य रहेको डाक्टर दंगालले बताउनुभयो ।
आइतबार बिहान मात्रै भीमेश्वर नगरपालिका– ५ माटीकी २६ वर्षीय मञ्जु सुवेदीले छोरा जन्माउनुभयो । व्यथा लागेपछि शुक्रबार अस्पताल भर्ना भएको र शनिबार कोभिड पोजेटिभ देखिएको उहाँको सामान्य अवस्थामा प्रसूति भएको हो ।
कोभिड पोजेटिभ देखिए पनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै मञ्जुले भन्नुभयो, ‘सुरुमा केही हुने हो कि भनेर डर लागेको थियो, अहिले ढुक्क भएकी छु’, मञ्जुसँगै अस्पताल भर्ना हृुनुभएकी कालिञ्चोक– ८ सुनखानीकी निर्जला आचार्यलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।
५० जनासम्मको उपचार गर्न सकिने क्षमता भएको चरिकोट अस्पतालमा जिल्लाभरका बिरामीहरु उपचार गराउन आउने गर्छन् । हाल यस अस्पतालमा दैनिक १० देखि १५ जनको दरले कोभिड बिरामी उपचारको लागि आउने गरेको अस्पतालले जनाएको छ । स्वास्थ कार्यालय दोलखाका अनुसार सङ्क्रमण समुदायस्तरमै पुगेकाले दैनिक कोभिड परीक्षण गर्नेहरुमध्ये ६० प्रतिशतमा कोरोना सङ्क्रमण पोजेटिभ देखिने गरेको छ ।
पुस १८ यता जिल्लामा चार सय ३५ जना कोभिड सङ्क्रमित भएका छन् । जसमा एक सय ५३ जना महिला र २० जना बालबालिका छन् । हालसम्म एक सय ३१ जना सङ्क्रमणमुक्त भएको स्वास्थ कार्यालय दोलखाले जनाएको छ ।